नयाँ अमेरिकी कानूनपछि १० लाखभन्दा बढी बालबालिका खाद्य सहायताबाट वञ्चित
Photo: Jordan Whitt/ Unsplash
अमेरिकी कंग्रेसले जुलाई २०२५ मा ‘वान बिग ब्युटीफुल बिल एक्ट’ पारित गरेयता अमेरिकाभरका १० लाखभन्दा बढी बालबालिकाले ‘सप्लिमेन्टल न्युट्रिसन असिस्टेन्स प्रोग्राम’ अन्तर्गत पाउँदै आएको खाद्य सुविधा गुमाएका छन्। ‘सेन्टर अन बजेट एन्ड पोलिसी प्रायोरिटीज’को नयाँ प्रतिवेदनले यो तथ्य सार्वजनिक गरेको हो।
उक्त विश्लेषण अनुसार जुलाई २०२५ देखि मार्च २०२६ को अवधिमा ४० लाखभन्दा बढी अमेरिकीहरू स्न्याप कार्यक्रमबाट हटेका छन्। यसले सङ्घीय खाद्य सहायता कार्यक्रममा सहभागिता उल्लेख्य रूपमा घटेको देखाउँछ।
यो विधेयक कानून बनेपछि एरिजोना राज्यमा नामाङ्कनमा सबैभन्दा ठूलो गिरावट दर्ता भएको छ। कानूनले खाद्य सहायताका लागि योग्यताका नियमहरू कडा बनाउनुका साथै राज्य स्तरमा जाँच प्रविधिलाई थप कडा पारेको छ। मे महिनासम्मको राज्य डेटा अनुसार ४ लाख ५० हजारभन्दा बढी एरिजोनावासी स्न्यापबाट बाहिरिएका छन्, जसले गर्दा राज्यभित्रको कुल सहभागिता आधाले घटेको छ।
सीबीपीपीको विश्लेषण अनुसार सुविधा गुमाउनेहरूमा बालबालिकाको सङ्ख्या ठूलो छ। अध्ययन गरिएका १९ राज्यहरूमा मात्रै १० लाखभन्दा बढी बालबालिकाले अब स्न्याप सहायता पाउन छाडेका छन्।
लुइसियानामा स्न्याप सुविधा पाइरहेका लगभग चार जना बालबालिकामध्ये एक जनाले यो सहायता गुमाएका छन्। त्यसैगरी म्यासाचुसेट्स र टेक्सासमा कार्यक्रममा सूचीकृत करिब पाँच जना बालबालिकामध्ये एक जना स्न्यापबाट हटेका छन्।
ट्रम्प प्रशासनअन्तर्गत सङ्घीय खाद्य सहायता कार्यक्रममा गरिएका ठूला कटौतीहरूपछि देशभर कार्यक्रममा सहभागिता घट्ने क्रम जारी छ।
सामान्यता ‘फूड स्ट्याम्प’ भनेर चिनिने स्न्यापले न्यून आय वा आम्दानी नभएका परिवारहरूलाई खाद्यान्न किन्नका लागि मासिक सुविधा प्रदान गर्दछ र यो देशकै सबैभन्दा ठूलो खाद्य सहायता कार्यक्रम हो।
प्रतिवेदन अनुसार सहभागितामा आएको यो तीव्र गिरावट २०२५ को वान बिग ब्युटीफुल बिल एक्टसँग जोडिएको छ, जसले स्न्याप सुविधा खर्चको ठूलो हिस्सा राज्यहरूको भुक्तानी त्रुटि दरका आधारमा राज्यहरूतिर सारेको छ।
कंग्रेसले हस्तक्षेप नगरे स्थिति अझ बिग्रने चेतावनी सीबीपीपीले दिएको छ। सबै राज्यहरूका लागि यो लागत हस्तान्तरण रोक्न तत्काल कंग्रेसनल कदम नचालिएमा, बालबालिकाहरू परिवारलाई आवश्यक पोषिलो खाना जुटाउन दिइने सहायताबाट वञ्चित हुँदा यो सङ्कट अझ गम्भीर बन्नेछ।
मिनेसोटाकी प्रगतिशील डेमोक्र्याट प्रतिनिधि इल्हान ओमारले यसै महिनाको सुरुमा हाउस अफ रिप्रिजेन्टेटिभ्समा सम्बोधन गर्दै यो नतिजातर्फ ध्यानाकर्षण गराएकी थिइन्। ओमारले स्न्याप कटौतीलाई उल्ट्याउने उद्देश्यले एउटा संशोधन प्रस्ताव पेस गरेकी थिइन्, तर रिपब्लिकन बहुमतले उक्त प्रस्ताव अस्वीकार गरिदियो।
पछिल्लो आँकडाले ‘युएस कन्फरेन्स अफ मेयर’ लाई पनि कदम चाल्न बाध्य पारेको छ। कम्तीमा ३० हजार जनसङ्ख्या भएका सहरहरूको प्रतिनिधित्व गर्ने यो गैर-पक्षीय सङ्गठनले अमेरिकामा गहिरिँदै गएको खाद्य सुरक्षा सङ्कटबीच सांसदहरूलाई स्न्याप कटौती उल्ट्याउन आग्रह गर्दै २०० भन्दा बढी मेयरहरूले हस्ताक्षर गरेको पत्र सिनेटमा पठाएको छ।
स्न्याप अझै पनि देशको सबैभन्दा प्रभावकारी र कुशल भोकमरी विरुद्धको कार्यक्रम हो। यसले गरिबी घटाउँछ, स्थानीय अर्थतन्त्रलाई सहयोग पुर्याउँछ र आर्थिक मन्दीका बेला स्वतः स्थिरता प्रदान गर्दछ, पत्रमा भनिएको छ, भोकमरी कुनै राजनीतिक मुद्दा होइन र खाद्य असुरक्षा समाधान गर्ने प्रयासहरू राजनीतिक विभेदभन्दा माथि उठ्नुपर्छ।





