२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अमेरिकाबाट डिपोर्ट भएपछि खुल्यो ठगीको रहस्य, ६५ लाख असुलेको आरोपमा खत्री पक्राउ

अमेरिका लैजाने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहल, काठमाडौँले दाङको शान्तिनगर गाउँपालिका-३ का २६ वर्षीय लोकमान खत्रीलाई पक्राउ गरेको हो।

खत्रीले ती व्यक्तिबाट अमेरिका पठाइदिन्छु भनेर ४५ लाख रुपैयाँ ठगी गरेका थिए। उनले ती व्यक्तिलाई सुरुमा २५ लाख रुपैयाँमा भिजिट भिसामा बेलायत पठाइदिने र त्यहाँ पुगेपछि भिजिट भिसालाई वर्किङ भिसामा परिणत गरिदिने भन्दै भिसा प्रक्रिया सुरु गर्न आफ्नो खातामा ४ लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए। खत्रीले ती व्यक्तिलाई बेलायतमा मासिक २ लाख रुपैयाँसम्म कमाइ हुने कम्पनीमा जागिर लगाइदिने आश्वासन समेत दिएका थिए।

खातामा ४ लाख जम्मा भएपछि खत्रीले ती व्यक्तिलाई “बेलायतको भिसा आएन, अब अमेरिका जाने हो भने ४५ लाख रुपैयाँ लाग्छ” भनेर प्रलोभन देखाएका थिए। अमेरिका जाँदा हवाईमार्ग प्रयोग हुने भएकाले सुरक्षित साथ पुग्न सकिने भन्दै खत्रीले ती व्यक्तिलाई आश्वस्त पारेका थिए। खत्रीले ती व्यक्तिबाट पटक-पटक गरी ६५ लाख २५ हजार ७८० रुपैयाँ लिएर २०८१ भदौ १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत दुबई पुर्‍याएका थिए।

दुबईबाट ती व्यक्तिलाई भारत हुँदै पुनः नेपाल ल्याइएको थियो। नेपाल ल्याइएका ती व्यक्तिलाई पुनः कतार, स्पेन, ब्राजिल, पेरु, इक्वेडर, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुआ, होन्डुरस र मेक्सिको हुँदै अवैध रूपमा अमेरिका पुर्‍याइएको थियो। अवैध रूपमा अमेरिका प्रवेश गरेको आरोपमा अमेरिकी प्रहरीले पक्राउ गरेपछि आफू १४ महिना जेल बस्नु परेको पीडितले उल्लेख गरेका छन्।

१४ महिना जेल बसेपछि पीडित व्यक्ति २०८२ चैत २४ गते अमेरिकाबाट डिपोर्ट भएर नेपाल आएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोमा दर्ता गराएको जाहेरीका आधारमा खत्रीलाई २०८३ वैशाख २८ गते जिल्ला प्रहरी कार्यालय सल्यानको समन्वयमा पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ।

खत्रीलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।