२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

एमसीसी परियोजनाअन्तर्गत दाङमा ४० किलोमिटर सडक स्तरोन्नति सुरु, आधुनिक प्रविधिको प्रयोग

एमसिए-नेपालले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको धानखोला–लमही ४० किलोमिटर सडक खण्ड स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु गरेको छ। आधुनिक प्रविधिको प्रयोगसहित सुरु गरिएको यो आयोजना दीर्घकालीन रूपमा सुरक्षित, टिकाउ र लागत–प्रभावकारी सडक निर्माणतर्फ लक्षित रहेको जनाइएको छ।

यस स्तरोन्नति कार्यमा नेपालमै पहिलो पटक ‘फूल डेप्थ रिक्लेमेशन’ र ‘सुपरपेभ आस्फाल्ट’ प्रविधि प्रयोग गरिँदैछ। यी प्रविधिले पुराना आस्फाल्ट सामग्री पुनःप्रयोग गरी वातावरणीय प्रभाव घटाउनुका साथै सडकको गुणस्तर र दीर्घायु बढाउने विश्वास गरिएको छ।

आयोजनाअन्तर्गत सडकको दुवैतर्फ सात–सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर सोल्जर निर्माण गरी कुल १२ मिटर चौडा सडक बनाइनेछ।

शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आधुनिक प्रविधिको प्रयोगप्रति सकारात्मक प्रतिक्रिया दिँदै यस आयोजनाले यात्रालाई सुरक्षित र सहज बनाउने बताए। “यो सडकमा दैनिक निर्भर रहने जनताका लागि यो महत्वपूर्ण उपलब्धि हो,” उनले भने, “यसले स्थानीय व्यवसाय, कृषि र उद्यमशीलतामा पनि नयाँ अवसर सिर्जना गर्नेछ।”

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले यस आयोजनालाई नेपाल–अमेरिका सहकार्यको महत्वपूर्ण उपलब्धि भन्दै ढुवानी लागत घटाउने, सडक सुरक्षा सुधार गर्ने र बजार पहुँच विस्तार गर्ने लक्ष्यमा केन्द्रित रहेको बताए। “यो आयोजना नेपालको दिगो आर्थिक विकासप्रति हाम्रो साझा प्रतिबद्धताको प्रतिबिम्ब हो,” उनले उल्लेख गरे।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले एमसिए–नेपालको लगानी नेपाल सरकारका योजनाको पूरक भएको उल्लेख गर्दै समयमै गुणस्तरीय कार्य सम्पन्न हुने विश्वास व्यक्त गरे। एमसीसीका राष्ट्रिय आवासीय उप–निर्देशक सञ्जय पौड्यालले अत्याधुनिक प्रविधिमार्फत दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने दिशामा यो परियोजना महत्वपूर्ण भएको बताए।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले पारदर्शिता र उच्च गुणस्तर कायम राख्दै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले नेपाल सरकार, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग लगायत सरोकारवालाहरूको सहयोगप्रति आभार व्यक्त गरे।

एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना ढुवानी लागत घटाउने, सडक अवस्था सुधार गर्ने र आर्थिक गतिविधि बढाउने उद्देश्यसहित अघि बढाइएको हो।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सन् २००४ मा स्थापना भएको अमेरिकी सरकारी निकाय हो, जसले सुशासन, पारदर्शिता र लोकतान्त्रिक अभ्यासमा आधारित देशहरूलाई आर्थिक सहयोग उपलब्ध गराउँछ। त्यस्तै, एमसिए–नेपाल (मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल) नेपाल सरकारले २०७५ वैशाखमा स्थापना गरेको सरकारी स्वामित्वको निकाय हो, जसले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका परियोजनाहरू कार्यान्वयन गर्दै आएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।