२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

श्रम स्वीकृतिमा अमेरिका जाने नेपालीको संख्या वार्षिक रूपमा घट्दो, ४ महिनामा ११२ मात्रै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेहरूको भीड

वैदेशिक रोजगारीप्रति नेपालीको आकर्षण निरन्तर बढिरहँदा एक महिनामै ६१ हजारभन्दा बढी नागरिक श्रम स्वीकृति लिएर विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत चैत महिना (२०८२) मा मात्रै ६१ हजार ८ सय १९ जनाले श्रम स्वीकृति लिएर विभिन्न गन्तव्य मुलुकतर्फ प्रस्थान गरेका हुन्।

विभागका अनुसार चैतमा विदेशिने मध्ये ५५ हजार ७१२ जना पुरुष र ६ हजार १०७ जना महिला रहेका छन्। यद्यपि, अमेरिका जानेको सङ्ख्या भने अत्यन्त न्यून देखिएको छ। सो महिनामा अमेरिका जानका लागि मात्र १७ जनाले श्रम स्वीकृति लिएका छन्, जसमा १४ पुरुष र ३ महिला रहेका छन्।

त्यसअघि फागुन महिनामा ५२ हजार ९४४ जनाले श्रम स्वीकृति लिएका थिए। तीमध्ये ४६ हजार ४५२ पुरुष र ६ हजार ४९२ महिला थिए। सो महिनामा अमेरिका जानेको सङ्ख्या २३ रहेको थियो, जसमा १६ पुरुष र ७ महिला थिए।

त्यस्तै, माघ महिनामा भने वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अझ उच्च देखिएको थियो। सो अवधिमा ७० हजार ५०३ जनाले श्रम स्वीकृति लिएका थिए, जसमा ६२ हजार १६२ पुरुष र ८ हजार ३४१ महिला थिए। माघमा अमेरिका जानेको सङ्ख्या ३७ पुगेको थियो, जसमा ६ पुरुष र ३१ महिला रहेका थिए।

पुस महिनामा ६२ हजार ५५९ जनाले श्रम स्वीकृति लिएका थिए। तीमध्ये ५५ हजार ५४१ पुरुष र ७ हजार १८ महिला थिए। सो महिनामा अमेरिका जानेको सङ्ख्या ३५ थियो, जसमा २७ पुरुष र ८ महिला रहेका थिए।

यसरी पछिल्लो ४ महिनामा एक सय १२ जनाले श्रम स्वीकृति लिएर अमेरिका प्रस्थान गरेका हुन् । जसमा पुरुषको सङ्ख्या ८८ रहेको छ भने महिला सङ्ख्या २४ जना रहेको छ । 

अघिल्लो वर्षको सोही अवधि (वि.सं. २०८१को पुस, माघ, फागुन र चैत) मा एक सय तीन जनाले अमेरिकाको लागि श्रम स्वीकृति लिएका थिए ।

२०८१ पुस महिनामा ३० जना नेपालीले श्रम स्वीकृति लिएर अमेरिका उडेका थिए । जसमा २४ जना पुरुष र ६ जना महिला थिए । त्यस्तै, माघमा पनि २२ पुरुष र ८ महिलासहित ३० जनाले नै अमेरिकाको लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

विभागका अनुसार फागुनमा १३ पुरुष र ४ महिलासहित १७ जना र चैत महिनामा २१ पुरुष र ५ महिलासहित २६ जना नेपालीले श्रम स्वीकृति लिएर अमेरिका उडेको तथ्याङ्कले देखाएको छ । 

अघिल्लो वर्षको सोही अवधि (पुस–चैत) को तुलना गर्दा चालु वर्षमा यो संख्यामा करिब ८.७ प्रतिशतको सामान्य वृद्धि देखाउँछ। तर दीर्घकालीन रूपमा हेर्दा भने घट्दो प्रवृत्तिमा देखिएको छ। सन् २०२४ जुलाई १६ देखि २०२५ जुलाई १६ सम्म अमेरिका जानका लागि ३३६ जनाले श्रम स्वीकृति लिएका थिए, जुन २०२३ जुलाई १७ देखि २०२४ जुलाई १७ को ३९९ जनाको तुलनामा कम हो।

२०२५ को जनवरीपछि अमेरिकामा ट्रम्प प्रशासन सुरु भएको थियो । ट्रम्प प्रशासन आइसकेपछिका नीतिगत परिवर्तन, भिसा प्रक्रिया, र श्रम अवसरहरूको उपलब्धताले पनि यसमा प्रभाव पारेको देखिन्छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।