अमेरिकी एपस्टिन यौन प्रकरण: बिल गेट्स संसदीय समितिमा बयान दिन तयार


प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार

माइक्रोसफ्टका सह–संस्थापक तथा अर्बपति परोपकारी बिल गेट्सले अमेरिकी कंग्रेस (संसद्) मा बयान दिने भएका छन्। दोषी ठहर भएका यौन अपराधी जेफ्री एपस्टिनसँगको सम्बन्धबारे भइरहेको अनुसन्धानका क्रममा गेट्सलाई आगामी जुन महिनामा बयानका लागि बोलाइएको हो।

अमेरिकी प्रतिनिधिसभाको ओभरसाइट कमिटीले एपस्टिन प्रकरणबारे अनुसन्धान गरिरहेको छ। गेट्सले आगामी जुन १० तारिखमा समितिसमक्ष उपस्थित भएर आफ्नो धारणा राख्ने पुष्टि भएको छ। गेट्सका प्रवक्ताले उनले समितिलाई सहयोग गर्न र सबै प्रश्नहरूको जवाफ दिन चाहेको बताएका छन्।

यद्यपि, एपस्टिनका पीडितहरूले गेट्समाथि कुनै पनि किसिमको दुराचारको आरोप भने लगाएका छैनन्। अनुसन्धानका कागजातमा नाम समावेश हुनुले मात्रै आपराधिक संलग्नता प्रमाणित नहुने स्पष्ट पारिएको छ।

यस वर्षको सुरुवातमा अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेका ३० लाखभन्दा बढी कागजातमा गेट्स र एपस्टिनबीचको सम्पर्कका विवरणहरू समावेश थिए। अझै धेरै कागजात सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ। गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसबाट पारित कानुनमा हस्ताक्षर गर्दै एपस्टिनसम्बन्धी सम्पूर्ण सामग्री सार्वजनिक गर्न निर्देशन दिएपछि गेट्ससँगको सम्बन्धसम्बन्धी जानकारी बाहिर आएको हो।

गेट्सले आफ्नो परोपकारी संस्थाका कर्मचारीहरूसँगको बैठकमा एपस्टिनसँगको सम्पर्कबारे चर्चा गर्दै त्यतिबेलाको आफ्नो निर्णयलाई ‘गल्ती’ स्वीकार गरेका थिए। वाल स्ट्रिट जर्नलका अनुसार उनले कर्मचारीहरूसँग माफी माग्दै भनेका थिए, “मैले कुनै गैरकानुनी काम गरिनँ र त्यस्तो केही देखिनँ।”

यसअघि अष्ट्रेलियाको एक अन्तर्वार्तामा गेट्सले एपस्टिनसँगको भेट सीमित रूपमा ‘डिनर’ मा मात्र भएको र आफूले एपस्टिनको निजी टापु भ्रमण नगरेको स्पष्ट पारेका थिए। उनले एपस्टिनसँग बिताएको समयप्रति पश्चाताप व्यक्त गर्दै माफी समेत मागेका थिए।

यसअघि फेब्रुअरीमा पूर्व राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले पनि सोही समितिसमक्ष बयान दिइसकेका छन्। वाणिज्य मन्त्री हावर्ड लुटनिक र पूर्व महान्यायाधिवक्ता पाम बोन्डीलाई पनि निकट भविष्यमा बयानका लागि बोलाइने सम्भावना रहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com