अमेरिकामा सहपाठीसँगको मुक्कामुक्कीपछि सडकमा बेहोस भएकी १२ वर्षीया छात्राको मृत्यु


प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार

अमेरिकाको जर्जिया राज्यमा विद्यालय बस स्टप नजिकै भएको झगडापछि १२ वर्षीया एक छात्राको मृत्यु भएको छ। प्रहरीका अनुसार छैटौँ कक्षामा अध्ययनरत जाडा वेस्ट नामकी छात्रा आफ्नै बस्ती नजिकै अर्की छात्रासँग भएको मुक्कामुक्कीपछि सडकमा बेहोस भएकी थिइन्। उनलाई तत्काल अस्पताल लगिएको थियो, तर केही दिनपछि उनको मृत्यु भएको बताइएको छ।

घटना एटलान्टा शहरबाट करिब ३० माइल पश्चिममा रहेको भिला रिका क्षेत्रमा बिहीबार दिउँसो भएको हो। प्रहरी प्रवक्ता सर्जेन्ट स्पेन्सर क्रफोर्डका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको मोबाइल भिडियोमा दुई छात्राबीच झगडा हुनुअघि उनीहरू एकअर्कालाई जिस्क्याउँदै गरेको देखिन्छ। त्यसपछि दुवैले आफ्ना ब्याकप्याक भुइँमा राखेर एकअर्कामाथि मुक्का प्रहार गर्न थालेका थिए। केही सेकेन्डमै उनीहरू भुइँमा लडेको भिडियोमा देखिन्छ।

प्रहरीका अनुसार झगडापछि जाडा घर पुग्न सकिनन्। “सडकमा एक किशोरी हृदयाघातको अवस्थामा लडिरहेकी छ” भन्ने खबर पाएपछि प्रहरी र एम्बुलेन्स टोली घटनास्थल पुगेका थिए। त्यतिबेला उनलाई सीपीआर दिइँदै थियो।

जाडाकी आमाले सामाजिक सञ्जालमार्फत छोरीको स्वास्थ्यका लागि प्रार्थना गर्न आग्रह गरेकी थिइन्। तर, आइतबार उनका आफन्तले फेसबुकमार्फत जाडाको मृत्यु भएको पुष्टि गरेका हुन्।

घटनास्थल नजिकै जाडाको सम्झनामा “RIP JADA WEST” लेखिएको बोर्ड र फूलहरू राखिएको छ।

डग्लस काउन्टी स्कूल सिस्टमले जाडालाई “उत्साही, दयालु र जीवन्त विद्यार्थी” भन्दै शोक व्यक्त गरेको छ। साथै, विद्यालयले विद्यार्थी र शिक्षकका लागि परामर्श सेवा पनि उपलब्ध गराएको जनाएको छ।

प्रहरीले घटनासम्बन्धी भिडियोसहित अन्य प्रमाणहरूको अध्ययन गरिरहेको र अभियोजन गर्ने वा नगर्ने निर्णय अभियोजकहरूले गर्ने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com