जोखिमपूर्ण आप्रवासन मार्गमा ७,६०० भन्दा बढीको मृत्यु


प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार

brown wooden fence near green trees during daytime

Photo by Greg Bulla

गत वर्ष भूमध्यसागर, अफ्रिकाको हर्न र अन्य जोखिमपूर्ण आप्रवासन मार्गहरूमा करिब ८,००० आप्रवासीको मृत्यु भएको वा बेपत्ता भएको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमका अनुसार कोष कटौतीका कारण मानवीय पहुँच र तथ्यांक संकलनमा अवरोध पुगेकाले वास्तविक मृतकको संख्या सार्वजनिक विवरणभन्दा निकै बढी हुन सक्ने आशंका गरिएको छ।

आईओएमकी महानिर्देशक एमी पोपले बिहीबार एक विज्ञप्ति जारी गर्दै आप्रवासन मार्गमा भइरहेको निरन्तरको जीवन क्षतिलाई ‘विश्वव्यापी असफलता’ को संज्ञा दिनुभएको छ। उहाँले यी मृत्युहरू अपरिहार्य नभएको उल्लेख गर्दै सुरक्षित र नियमित मार्गहरूको विस्तार गर्न तथा मानिसहरूको कानुनी हैसियतको पर्वाह नगरी उनीहरूको संरक्षणका लागि तत्काल कदम चाल्न विश्व समुदायसँग आह्वान गर्नुभएको छ।

तथ्यांकअनुसार सन् २०२४ मा ९,२०० आप्रवासीको मृत्यु भएकोमा सन् २०२५ मा यो संख्या घटेर ७,६६७ पुगेको देखिएको छ। तर, आईओएमले यो गिरावट यात्रा सुरक्षित भएकाले नभई सूचना संकलन र बजेट अभावका कारण मृत्यु ट्र्याक गर्ने क्षमता कमजोर भएकाले देखिएको स्पष्ट पारेको छ। विशेषगरी अमेरिकी कोष कटौतीका कारण धेरै सहायता कार्यक्रमहरू बन्द गर्नुपर्दा वास्तविक संकट ओझेलमा परेको संस्थाको बुझाइ छ।

समुद्री मार्गहरू अझै पनि सबैभन्दा घातक सावित भइरहेका छन्। गत वर्ष भूमध्यसागरमा २,१०८ र क्यानरी टापुतर्फको एट्लान्टिक मार्गमा १,०४७ जनाको ज्यान गएको छ। यस्तै, एसियामा ज्यान गुमाउने ३,००० मध्ये आधाभन्दा बढी अफगान नागरिक रहेका छन् भने अफ्रिकाको हर्न क्षेत्रबाट यमनतर्फ जाने क्रममा ज्यान गुमाउने ९२२ जनामा अधिकांश इथियोपियाली रहेका छन्।

यो संकट सन् २०२६ मा पनि उत्तिकै भयावह देखिएको छ। सन् २०२६ फेब्रुअरी २४ सम्म मात्रै भूमध्यसागरमा ६०६ जनाको मृत्यु भइसकेको तथ्यांकले आप्रवासन संकट झन् गहिरिँदै गएको र तस्करहरूको जोखिमपूर्ण सञ्जालमा मानिसहरू फस्ने क्रम नरोकिएको संकेत गर्दछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com