एफबीआई निर्देशक पटेलमाथि छानबिन गर्न वरिष्ठ डेमोक्रेट सिनेटरको माग


प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार

AP Photo/Mark Schiefelbein

अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक काश पटेलमाथि छानबिन गर्न वरिष्ठ डेमोक्रेट सिनेटरले माग गरेका छन्। सिनेट न्यायिक समितिका वरिष्ठ डेमोक्रेट सदस्य डिक डर्बिनले एफबीआई निर्देशक पटेलको निजी विमान प्रयोगसम्बन्धी विषयमा छानबिन गर्न माग गरेका हुन्।

उनले यसलाई “गैरजिम्मेवार मनोरञ्जनात्मक उडान” भन्दै आलोचना गरेका छन्। पटेलमाथि निजी प्रयोजनका लागि कार्यालयको विमान प्रयोग गरी महत्त्वपूर्ण घटनाहरूमा प्रतिक्रिया दिन ढिलाइ गरेको आरोप लगाइएको छ।

सेप्टेम्बर महिनामा युटाहस्थित एक कलेज क्याम्पसमा आयोजित कार्यक्रममा रिपब्लिकन कार्यकर्ता चार्ली कर्कको हत्या भएपछि एफबीआईको गोलीकाण्ड छानबिन टोली ढिलो पुगेको दाबी गरिएको छ। पटेलका अनुसार पाइलटको अभावका कारण उक्त टोली कम्तीमा एक दिन रोकिएको थियो। सो अभाव पटेलको निजी यात्राका कारण सिर्जना भएको आरोप लगाइएको छ।

त्यस्तै, रोड आइल्याण्डस्थित ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डमा पनि सोही टोली ढिलो पुगेको आरोप छ। उक्त घटनामा दुई विद्यार्थीको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। टोलीले विमान नपाएपछि भर्जिनियास्थित क्वान्टिकोबाट सडक मार्ग हुँदै रोड आइल्याण्डको प्रोभिडेन्स पुग्नुपरेको डर्बिनले बताएका छन्।

तर, एफबीआईका प्रवक्ता बेन विलियम्सनले यी सबै आरोप असत्य र भ्रामक भएको दाबी गरेका छन्। उनले चार्ली कर्कसम्बन्धी घटनाका दिन पटेल वासिङ्टनमा र त्यसको भोलिपल्ट न्युयोर्कमा आयोजित स्मृति समारोहमा सहभागी भएको स्पष्ट पारेका छन्। ब्राउन विश्वविद्यालयको घटनामा पनि टोली पुग्न ढिलाइ नभएको उनले बताएका छन्।

एफबीआईसँग भर्जिनियामा सञ्चालनका लागि तीनवटा विमान छन्, जसको प्रयोग निर्देशकको आवतजावत तथा आपत्कालीन र निगरानी कार्यका लागि गरिन्छ। एफबीआई निर्देशकहरूलाई सुरक्षाका कारण व्यावसायिक विमानमार्फत यात्रा गर्न निषेध गरिएको हुन्छ। यद्यपि, निजी प्रयोजनमा विमान प्रयोग गर्दा व्यावसायिक हवाई टिकट बराबरको रकम सरकारलाई फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ।

यसअघि सन् २०१३ मा सरकारी लेखा परीक्षण निकायले तत्कालीन एफबीआई निर्देशक रोबर्ट म्युलर र महान्यायाधिवक्ता एरिक होल्डरको निजी विमान प्रयोगबारे समीक्षा गरेको थियो। पूर्व निर्देशकहरू जेम्स कोमी र क्रिस्टोफर रेले पनि ठूलो संख्यामा सरकारी खर्चमा उडान गरेको भन्दै आलोचना खेपेका थिए।

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नियुक्त हुनुअघि काश पटेल आफैँले आफ्ना पूर्ववर्तीहरूमाथि निजी यात्राका लागि सरकारी विमान प्रयोग गरेको भन्दै आलोचना गरेका थिए। डर्बिनले सरकारी लेखा परीक्षण निकाय र न्याय विभागका महानिरीक्षकलाई पटेलको विमान प्रयोगबारे अनुसन्धान गर्न औपचारिक अनुरोध गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com