अमेरिकाको ‘आइस’ हिरासतमा थुनिएका व्यक्तिको गुनासो: “ताजा हावा छैन, घाम छैन, दयनीय अवस्थामा छु”


प्रकाशित मिति : माघ २८, २०८२ बुधबार

अमेरिकामा पाँच महिनादेखि आप्रवासन हिरासतमा रहेका एक व्यक्तिले आफू अत्यन्त दयनीय अवस्थामा थुनिएको बताएका छन्। अमेरिकी आप्रवासन अधिकारीहरूले हिरासतमा राखेका आप्रवासीहरूमाथि गर्ने व्यवहारबारे अन्तर्राष्ट्रिय रूपमा चासो बढिरहेका बेला एक आइरिस नागरिकले यस्तो खुलासा गरेका हुन्।

आयरल्यान्डको किल्केनी काउन्टीका सिमस कुल्लेटनलाई गत सेप्टेम्बरको सुरुदेखि टेक्सासस्थित इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) को हिरासत केन्द्रमा राखिएको छ। उनी १५ वर्षभन्दा बढी समयदेखि बोस्टनमा बसोबास गर्दै आएका थिए र त्यहाँ निर्माण कम्पनी सञ्चालन गर्थे। कुल्लेटनका अनुसार ‘होम डिपो’ बाट घर फर्किँदै गर्दा ‘आइस’ अधिकारीहरूले उनलाई पक्राउ गरेका थिए।

कुल्लेटनले आफू अमेरिकी नागरिकसँग विवाहित भएको, ग्रीन कार्डको प्रक्रियामा रहेको, कुनै आपराधिक रेकर्ड नभएको र वैध कार्य अनुमति रहेको जानकारी दिँदादिँदै पनि अधिकारीहरूले हथकडी लगाएर लगेको बताएका छन्। उनलाई हाल टेक्सासको एल पासोस्थित केन्द्रमा राखिएको छ।

हिरासतको अवस्थाबारे उनले भनेका छन्: उनी ७० भन्दा बढी पुरुषसँग एउटा ठूलो तर भीडभाड भएको कोठामा बस्न बाध्य छन्। चिसो र ओसिलो वातावरणमा निरन्तर कृत्रिम बत्तीमुनि सुत्नुपर्ने बाध्यता छ। खाना सीमित मात्रामा दिइन्छ, स्वास्थ्य सेवामा पहुँच छैन र बाहिर जान लगभग प्रतिबन्ध लगाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“म चार महिनाभन्दा बढी समयदेखि एउटै कोठामा थुनिएको छु। न ताजा हावा छ, न त घाम नै। साँचो भन्नुपर्दा, म यहाँ आफ्नो ज्यानकै डरमा छु,” उनले थपे।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी की प्रवक्ता ट्रिसिया म्याकलफलिनले भने कुल्लेटन सन् २००९ मा ९० दिने ‘भिसा वेभर कार्यक्रम’ अन्तर्गत अमेरिका प्रवेश गरेको र निर्धारित समयमा देश नछोडेको बताएकी छन्। उनका अनुसार सेप्टेम्बर १०, २०२५ मा आप्रवासन न्यायाधीशले उनलाई निष्कासन गर्ने अन्तिम आदेश जारी गरेका थिए।

प्रशासनले उनलाई तत्काल आयरल्यान्ड फर्किन प्रस्ताव गरिएको तर उनले आफैँ हिरासतमै बस्ने विकल्प रोजेको दाबी गरेको छ। यता कुल्लेटनले भने अधिकारीहरूले आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न दबाब दिएको र आफूले पत्नी टिफनी स्मिथमार्फत ग्रीन कार्डको आवेदनलाई आधार बनाएर कानुनी लडाइँ लड्ने निर्णय गरेको बताएका छन्।

आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनले हरेक देशको आफ्नै आप्रवासन नीति हुने भए तापनि अमेरिकाका ‘आइस’ केन्द्रहरूको अवस्था भने चिन्ताको विषय बनेको टिप्पणी गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com