सुनुवाइका क्रममा आफ्नो कामप्रति असन्तुष्टि जनाउँदै ‘बेकार काम’ भनेपछि पदबाट हटाइन् वकिल


प्रकाशित मिति : माघ २२, २०८२ बिहीबार

अमेरिकाको मिनेसोटा राज्यमा डिपार्टमेन्ट अफ जस्टिसको तर्फबाट अदालतमा मुद्दा लडिरहेकी एक सरकारी वकिललाई पदबाट हटाइएको छ। अदालतमा आफ्नो कामप्रति असन्तुष्टि जनाउँदै उनले आफ्नो काम बेकार भएको बताएकी थिइन् ।

सार्वजनिक अभिलेखअनुसार अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)अन्तर्गत कार्यरत वकिल जुली लेलाई मिनेसोटा जिल्लाको अमेरिकी अभियोक्ता कार्यालयमा खटाइएको थियो। तर, अदालतमा दिएको अभिव्यक्तिपछि उनको जिम्मेवारी समाप्त गरिएको एक अधिकारीले जानकारी दिएका छन्।

एनबीसी न्युजका अनुसार जुली लेले एक महिनाभन्दा कम समयमा ८८ वटा मुद्दा सम्हालेकी थिइन्। मंगलबार मिनियापोलिसमा भएको आप्रवासन सम्बन्धी सुनुवाइका क्रममा उनले आफ्नो कामप्रति असन्तुष्टि व्यक्त गर्दै भनेकी थिइ्न, “प्रणाली नै नराम्रो छ, यो काम नै नराम्रो छ। यदि मलाई अदालतको अवहेलनामा राखिदिनुभयो भने म २४ घण्टा सुत्न पाउँथेँ ।” अदालतमा उपस्थित व्यक्तिहरूले पनि उनको भनाइ पुष्टि गरेका छन्।

उक्त सुनुवाइका क्रममा अमेरिकी जिल्ला न्यायाधीश जेरी ब्ल्याकवेलले सरकारले किन अदालतका आदेश पालना नगरेको भनेर स्पष्ट पार्न निर्देशन दिएका थिए। विशेषगरी अदालतले रिहा गर्न आदेश दिएका केही आप्रवासी बन्दीहरूलाई रिहा नगरिएको विषयमा प्रश्न उठाइएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यायाधीश ब्ल्याकवेलले यस घटनालाई चिन्ताजनक भन्दै सरकारले अदालतका आदेशहरू बारम्बार पालना नगरेको उल्लेख गरेका छन्। यसअघि मुख्य अमेरिकी जिल्ला न्यायाधीश प्याट्रिक शिल्ट्जले पनि सरकारको यस्तो व्यवहारप्रति असन्तुष्टि जनाउँदै “धैर्य समाप्त भएको” बताएका थिए।

सुनुवाइका क्रममा जुली लेले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस), इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) र डिपार्टमेन्ट अफ जस्टिसलाई अदालतका आदेश पालना गराउन निकै कठिन भएको बताएकी थिइन्। साथै आफूलाई उक्त जिम्मेवारीका लागि पर्याप्त तालिम नदिइएको पनि उनले उल्लेख गरेकी थिइन्।

यसैबीच, अमेरिकी अभियोक्ता कार्यालयका केही वकिलहरूले पछिल्ला हप्ताहरूमा नैतिक चिन्ताका कारण पद छाडेको स्रोतहरूले बताएका छन्। ती रिक्त स्थान पूर्ति गर्न ट्रम्प प्रशासनले थप स्रोत परिचालन गर्ने प्रयास गरिरहेको जनाइएको छ।

यो घटना “अपरेशन मेट्रो सर्ज” नामक व्यापक आप्रवासन नियन्त्रण अभियानकै बीचमा भएको हो। मिनेसोटामा सञ्चालन भइरहेको उक्त अभियानले डिसेम्बरयता हजारौँ गिरफ्तारी गरिसकेको छ। अभियानका कारण शहरमा व्यापक प्रदर्शन भएका छन्।

यस क्रममा संघीय अधिकारीहरूले गोली प्रहार गर्दा अमेरिकी नागरिक रेने गुड र एलेक्स प्रेट्टीको मृत्यु भएको थियो। उक्त घटनापछि व्यापक आलोचना भएको छ भने केही रिपब्लिकन नेताहरूले स्वतन्त्र अनुसन्धानको माग गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com