अमेरिकाको मिनेसोटा राज्यबाट ७०० संघीय आप्रवासन एजेन्टहरू हटाउने ट्रम्प प्रशासनको घोषणा


प्रकाशित मिति : माघ २१, २०८२ बुधबार

गत जनवरी २४ मा मिनियापोलिसमा संघीय एजेन्टहरूले ३७ वर्षीय एलेक्स प्रेटीको गोली हानी हत्या गरेको स्थल नजिकै प्रदर्शनकारीहरूमाथि हतियार तेर्स्याउँदै संघीय एजेन्टहरू । तस्वीर : एलेन श्मिट/एपी-रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मिनेसोटा राज्यबाट ७०० संघीय आप्रवासन एजेन्टहरू हटाउने घोषणा गरेको छ। सीमा व्यवस्थापन प्रमुख (बोर्डर जार) टम होमनले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। यो निर्णय दुई अमेरिकी नागरिक संघीय एजेन्टहरूको कारबाहीका क्रममा मृत्यु भएपछि देशभर व्यापक विरोध प्रदर्शन सुरु भएको केही सातापछि आएको हो।

पत्रकार सम्मेलनमा बोल्दै होमनले राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा सकेसम्म छिटो संघीय एजेन्टहरूको संख्या घटाउने र हाल सञ्चालन भइरहेको आप्रवासन कडाइ अभियानलाई अन्त्य गर्ने लक्ष्य रहेको बताए। उनले पूर्ण रूपमा एजेन्ट हटाउने विषय भने आप्रवासन नियन्त्रण अभियानमा हुने प्रगतिमा निर्भर रहने स्पष्ट पारे।

पछिल्ला दुई महिनामा तीन हजार भन्दा बढी संघीय आप्रवासन एजेन्टहरू मिनियापोलिस शहरमा परिचालन गरिएको थियो। ट्रम्प प्रशासनले उक्त अभियानलाई “अपरेशन मेट्रो सर्ज” नाम दिएको छ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)का अनुसार अपरेशन सुरु भएदेखि हालसम्म करिब तीन हजार कागजातविहीन आप्रवासीहरू पक्राउ परेका छन्। प्रशासनले यस अभियानलाई गैरकानुनी आप्रवासन नियन्त्रणका लागि आवश्यक कदमको रूपमा प्रस्तुत गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघीय आप्रवासन अधिकारीहरूको कारबाहीका क्रममा ३७ वर्षीया रेनी गुड र ३७ वर्षीय एलेक्स प्रेट्टीको मृत्यु भएपछि देशव्यापी आक्रोश फैलिएको थियो। यस घटनापछि विभिन्न शहरहरूमा विरोध प्रदर्शन भइरहेका छन् ।

प्रेट्टीको मृत्यु भएको तुरुन्तपछि (घटनाको औपचारिक अनुसन्धानबाट ठोस प्रमाण सार्वजनिक हुनुअघि नै) डिएचएस सेक्रेटरी क्रिस्टी नोएम र राष्ट्रपति ट्रम्पका प्रमुख सल्लाहकार स्टेफन मिलरले प्रेट्टीलाई “घरेलु आतंककारी” भन्दै उनले हतियार देखाएको आरोप लगाएका थिए। तर, यस विषयमा प्रशासनभित्रै फरक-फरक धारणा सार्वजनिक भएका छन्।

केही दिनपछि ट्रम्प प्रशासनले बोर्डर पेट्रोलका कमान्डर-एट-लार्ज ग्रेगोरी बोभिनोलाई पदबाट हटाएको थियो। उनी प्रदर्शनकारीसँग भएका हिंसात्मक झडप तथा आप्रवासी पक्राउका घटनाहरूमा बारम्बार उपस्थित हुने गरेका थिए। बोभिनो पछि क्यालिफोर्नियाको एल सेन्ट्रोस्थित आफ्नो पदमा फर्किएका छन्।

यसैबीच, सोही हप्ता टम होमन मिनियापोलिस पुगेका थिए। उनले स्थिति सुधार गर्न सकिने बताउँदै राज्यमा सञ्चालन भइरहेको अभियान क्रमशः घटाउने संकेत दिएका थिए। बुधबारको पत्रकार सम्मेलनमा उनले अब मिनियापोलिसमा दुई फरक कमान्ड संरचनाको सट्टा एउटै कमान्ड प्रणाली लागू गरिने जानकारी पनि दिए।

होनमको ‘ड्रडाउन’ सम्बन्धी प्रारम्भिक अभिव्यक्तिपछि राष्ट्रपति ट्रम्पले तनाव घटाउने योजनासँग विरोधाभास देखिने अभिव्यक्ति दिएका थिए। उनले आफ्नो प्रशासनका अन्य सदस्यहरूले प्रेट्टीलाई दिएको आरोपबाट आफूलाई अलग राख्दै शहरको अवस्था शान्त बनाउन चाहेको बताएका थिए। साथै, उनले प्रेट्टीको मृत्यु ‘धेरै दुर्भाग्यपूर्ण’ घटना भएको उल्लेख गरेका थिए।

तर शुक्रबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै प्रेट्टीलाई ‘उत्तेजक र सम्भवतः विद्रोही’ भनेका थिए।

प्रेट्टीले आप्रवासन अधिकारीहरूले चलाइरहेको सवारी साधनमा लात हानेको देखिने भिडियो सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पका केही कट्टर समर्थकहरूले प्रशासनलाई कडा नीति जारी राख्न दबाब दिएका छन्। ट्रम्पका सहयोगी स्टेफन ब्याननले आफ्नो पोडकास्ट “वार रुम” मा बोल्दै कुनै हालतमा तनाव घटाउन नहुने बताएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com