इरानको यात्रा नगर्न नेपालीहरूलाई सरकारको आग्रह, इरानमा रहनेहरूलाई तत्काल देश छोड्न सल्लाह
प्रकाशित मिति : माघ १८, २०८२ आईतबार
जनवरी २७, २०२६ मा खिचिएको इरानको राजधानी तेहरान । तस्वीर : शादाती/सिन्ह्वा-रासस
इरानमा पछिल्लो समय विकसित हुँदै गएको अस्थिर परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले नेपाली नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह गरेको छ । आइतबार ट्राभल एड्भाइजरी गर्दै परराष्ट्र मन्त्रालयले अवस्था सामान्य नहुँदासम्म इरान यात्रा नगर्न नेपाली नागरिकहरूलाई आग्रह गरेको हो । मन्त्रालयले हाल इरानमा बसोबास गरिरहेका वा रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई सकेसम्म चाँडो सुरक्षित माध्यम प्रयोग गरी देश छोड्न समेत सल्लाह दिएको छ ।
मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकहरूलाई सम्भावित आपत्कालीन निकासीलाई सहज बनाउन राहदानी, परिचयपत्र तथा अन्य आवश्यक यात्रा कागजातहरू तयारी अवस्थामा राख्न अनुरोध गरेको छ। सुरक्षा जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सरकारले समयमै सतर्कता अपनाउन आग्रह गरेको हो।
यसअघि पनि परराष्ट्र मन्त्रालयले १३ जनवरी २०२६ मा इरानसम्बन्धी ट्राभल एड्भाइजरी जारी गर्दै इरानमा बसोबास गर्ने र काम गर्ने नेपाली नागरिकहरूलाई इरानका सक्षम अधिकारीहरूको सुरक्षा सल्लाह पालना गर्न, घर भित्रै बस्न, सतर्क रहन र सावधानी अपनाउन आग्रह गरेको थियो । मन्त्रालयले इरान यात्रा गर्ने योजनामा रहेका सबै नेपाली नागरिकहरूलाई देशको अवस्था सामान्य नभएसम्म यात्रा नगर्न समेत सुझाव दिएको थियो ।
मन्त्रालयले समन्वय तथा थप जानकारीका लागि परराष्ट्र मन्त्रालय, काठमाडौं र नेपाली दूतावास, दोहासँग सम्पर्क गर्न सकिने जनाएको छ। मन्त्रालयले परराष्ट्र मन्त्रालयको टेलिफोन नम्बर +०१-४२००१८२–८५, ९८६२६७८४३७, +०१-४२००४८०, ९८५१३५४५६५ र दोहास्थित नेपाली दूतावासको टेलिफोन +९७४-६६२१ ४४१९ मा सम्पर्क गर्न समेत अपिल गरेको छ ।






