नेपालको प्रदर्शनपछि गोफण्डमीमा लाखौं डलर संकलन, घाइतेका परिवारलाई भने औषधी किन्न सकस
प्रकाशित मिति : कार्तिक १०, २०८२ सोमबार
काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरु । फोटो : कान्तिपुर
हालैको नेपालमा भएको प्रदर्शन र हिंशामा मृतकका परिवारलाई सहयोग र घाइतेको उपचारमा सहयोगका लागि भन्दै विदेशमा लाखौं डलर संकलन भइरहेको छ । तर उपचाररत घाइतेका परिवारलाई भने औषधि किन्न नै सकस भइरहेको छ । सरकारले जेन–जी आन्दोलनका घाइतेको निःशुल्क उपचार घोषणा गरे पनि अस्पतालमा नपाइने औषधि, खाना, खाजा र अन्य खर्च आफन्तले आफैं बेहोर्नुपर्दा आर्थिक बोझ परेको हो ।
बाहिरबाट औषधि किन्दा खर्च फिर्ता पाइने सरकारी व्यवस्था भए पनि घाइते र परिवारलाई त्यसबारे जानकारी नहुँदा आर्थिक बोझ थपिएको रिपोर्ट कान्तिपुरले प्रकाशित गरेको छ । अस्पतालमा उपचाररत घाइतेका आफन्तले पनि सरकारी सहयोग अपुग भएको र खर्च फिर्ता पाउने प्रक्रिया अस्पष्ट रहेको गुनासो गरेका छन्। दुई दिनमा कुल घाइतेको संख्या २५७१ रहेकोमा २५१० जना घर फर्केका छन् भने ५० जनाको अस्पतालमा मृत्यु भएको थियो । अझै अस्पतालमा रहेकाहरु ११ जना रहेका छन् भने घाइतेको परिचयपत्र र २० हजार भैपरी खर्च पाएकाहरु २३०० जना रहेका छन् ।
२ दिनको प्रदर्शन र हिंशामा मृतकका परिवार र घाइतेलाई सहयोग गर्न भन्दै गोफण्डमीमा दर्जनौं आर्थिक संकलन अभियानहरु चलाइएका छन् । जसमध्ये दायित्व युएस नामको अमेरिकन गैर नाफामुलक संस्थासँगको सहकार्यमा आभाष बोम्जनले अष्ट्रेलियामा संचालन गरिएको गोफण्डमीमा ३ लाख ४२ हजार अष्ट्रेलियन डलर संकलन भइसकेको छ । हिरोशी खनालले सोही संस्थासँगै मिलेर चलाएको अर्काे गोफण्डमीमा झण्डै १ लाख ७२ हजार अष्ट्रेलियन डलर संकलन भएको छ । यो संस्थाको नाम नेपाल राइजिङ भनिएपनि अमेरिकामा दायित्व युएसको नाममा दर्ता रहेको छ भने यो संस्थाले २०१८ मा अमेरिकामा आईआरएसबाट ट्याक्स छट स्टाटस पाएको थियो ।
टेक्सासको युनाइटेड नेपलिज एसोसिएसनले संचालन गरेको गोफण्डमीमा ३२ हजार अमेरिकी डलर संकलन भइसकेको छ । त्योबाहेक व्यक्तिगत रुपमा पनि केही व्यक्तिका नाममा गोफण्डमी खोलिएको छ । अष्ट्रेलियाका यम अधिकारीको नाममा खोलिएको गोफण्डमीमा ३ हजार अष्ट्रेलियन डलर संकलन भइसकेको छ भने अष्ट्रेलियाको पर्थका मनिष उपाध्यायका नाममा संचालित गोफण्डमीमा ६ हजार ५ सय १६ अष्ट्रेलियन डलर संकलन भइसकेको छ ।
अमेरिकाको मेरिल्याण्डका इशान मरठाले संचालन गरेको गोफण्डमीमा ५ हजार डलर संकलन भएको छ भने कोलोराडाका दिनेश पन्तको नामबाट खोलिएको गोफण्डमीमा ५३ सय अमेरिकी डलर संकलन भइसकेको छ । त्यस्तै क्यानडामा अमृत अर्यालका नाममा खोलिएको गोफण्डमीमा २२०० क्यानेडियन डलर संकलन भइसकेको छ । अष्ट्रेलियाकै नेबुला बस्नेतले घाइते दीपेन्द्र बस्नेतका लागि भन्दै खोलेको गोफण्डमीमा झण्डै १४ सय अष्ट्रेलियन डलर संकलन भइसकेको छ । अमेरिकाको मासाचुसेट्सका प्रविन शर्माले चलाएको गोफण्डमीमा १० हजार ४ सय ९१ डलर संकलन भएको छ भने नर्थ क्यारोलिनाका इश्वर मिश्रले चलाएको गोफण्डमीमा ५ हजार ७ सय ५८ डलर संकलन भएको छ ।
त्यस्तै क्यालिफोर्नियाको नेपलिज स्टुडेण्ट एसोसिएसन संचालन गरेको गोफण्डमी अभियानमा ११४०, क्यानडाको यार्शा भान फुटवल क्लबले संचालन गरेको गोफण्डमीमा ११५३ क्यानेडियन डलर, यूकेको माया फाउण्डेशनले संचालन गरेको गोफण्डमीमा १३ सय पाउण्ड संकलन भएको छ । अमेरिकाकी रक्षा चम्लागाईले संचालन गरेको गोफण्डमीमा २७ हजार ५ सय ४२ डलर संकलन भएको छ । अष्ट्रेलियाको एमआईटी ग्रुप फाण्डेशनको गोफण्डमीमा ३४६५ अष्ट्रेलियन डलर संकलन भएको छ । यीबाहेक अरु दर्जनौं गोफण्डमीमा सयौंदेखि हजारौं डलर रकम संकलन भएको छ ।
विगतमा पनि नेपालमा कुनै प्राकृतिक विपत्ति वा घटना हुँदा विदेशमा रहेका नेपालीहरुले गोफण्डमीमार्फत रकम संकलन गर्दै आएका थिए । तर त्यस्तो रकम दुरुपयोग हुदै आएका विवरणहरु समेत सार्वजनिक हुदै आएका थिए । भूकम्पका नाममा संकलित लाखौं डलर रकम दुरुपयोग भएको थियो । त्यसैले अहिले पनि यसरी संकलित रकम दुरुपयोग हुनसक्ने सामाजिक सञ्जालहरुमा कतिपयले आंशका व्यक्त गरिरहेका छन् ।






