जेनजीको प्रदर्शनले काठमाडौंमा तनाव, आगजनी र तोडफोड भएपछि कर्फ्यू आदेश
प्रकाशित मिति : भाद्र २२, २०८२ सोमबार
नयाँ बानेश्वर केन्द्रित ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएपछि अवस्था नियन्त्रणमा लिनका नेपाल प्रहरीले अश्रु ग्यास र हवाई फायर गरेको छ ।
आज बिहान माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शन बिजुलीबजार पुलसम्म शान्तिपूर्ण रूपमा पुगे पनि निषेधित क्षेत्र तोडी नयाँ बानेश्वर पुगेको थियो ।
नयाँ बानेश्वरमा प्रदर्शनकारीले संसद् भवन परिसरमा प्रवेश गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो ।
प्रदर्शनकारीले संसद् भवनको पर्खाल तोडफोड र प्रहरी बिटमा आजगनी गरेका थिए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड अश्रु ग्यास र हवाई फायर गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाभित्र आज चार किल्ला तोकी कर्फ्यू आदेश जारी गरेको छ ।
जेनजी पुस्ताका नाममा भएको प्रदर्शन अराजक देखिएपछि तोकिएको निश्चित सिमानाभित्र कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो ।
बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कर्फ्यू आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम आज भदौ २३ गते अपराह्न १२ः३० देखि रातिको १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।








