अमेरिकाबाट नेपाल जाने पर्यटकको संख्यामा उच्च गिरावट, मार्चको तुलनामा झण्डै आधाले कमी
प्रकाशित मिति : भाद्र १५, २०८२ सोमबार
कास्कीस्थित पर्यटकीय नगरी पोखराको फेवातालमा डुङ्गा सयर गर्दै विदेशी पर्यटक। तस्बिर : राधिका कँडेल / रासस
सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । तर यसै बर्षको फेब्रुअरी, मार्च र अप्रिलको तुलनामा भने उच्च गिरावट आएको छ ।
बोर्डको तथ्याङ्कअनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट सात हजार ५३३ अर्थात् ८ दशमलव ५, अमेरिकाबाट ६ हजार ६८ अर्थात् ६ दशमलव ८ प्रतिशत, श्रीलङ्काबाट पाँच हजार ९५६ अर्थात् ६ दशमलव ७ प्रतिशत र बङ्गलादेशबाट चार हजार २६२ अर्थात् ४ दशमलव ८ प्रतिशत पर्यटक भित्रिएका छन् ।
सन् २०२५ को जनवरीदेखि अगस्तसम्म आठ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । तथ्याङ्कअनुसार, जनवरीमा ७९,९९१ जना पर्यटक नेपाल आएका थिए। त्यसपछि फेब्रुअरीमा ९६,८८० र मार्चमा १,२१,६८७ जना पर्यटकको आगमनसँगै यो संख्या उच्च बिन्दुमा पुगेको थियो। तर त्यसपछि भने कुल पर्यटकको संख्या घट्दै गयो, अप्रिलमा १,१६,४९०, मेमा ८६,२१६, जुनमा ७६,४२५ र जुलाईमा ७०,१९३ मा झर्यो।
नेपालमा अमेरिकी पर्यटकको आगमनमा पनि तीव्र गिरावट आएको छ। प्राप्त तथ्याङ्कले पछिल्ला केही महिनादेखि अमेरिकी पर्यटकको संख्यामा लगातार कमी आएको देखाएको छ।
मार्च महिनामा ११,०९२ अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेका थिए, जुन यस वर्षको सबैभन्दा उच्च संख्या हो। तर त्यसपछि यो संख्या निरन्तर घट्दै गएको छ। अप्रिलमा १०,०५३ र मे महिनामा ९,०७४ अमेरिकी पर्यटक नेपाल आएका थिए। गर्मी महिनामा पनि यो गिरावट जारी रह्यो, जुनमा ९,६९६ र जुलाईमा ६,६२६ पर्यटक मात्र आए। सबैभन्दा पछिल्लो तथ्याङ्क अनुसार अगस्टमा यो संख्या घटेर ६,०६८ मा पुगेको छ, जुन यस वर्षको सबैभन्दा न्यून हो।
मार्चमा ११,००० भन्दा बढी रहेको अमेरिकी पर्यटक संख्या अगस्टमा ६,००० को हाराहारीमा झर्नु नेपालको पर्यटन उद्योगका लागि चिन्ताको विषय हो, किनकि यो उद्योग अन्तर्राष्ट्रिय पर्यटकमा धेरै निर्भर छ। यद्यपी जनवरीमा ८ हजार ६३ र फरबरीमा १० हजार ३ सय ४८ अमेरिकी पर्यटक नेपाल गएका थिए ।
कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुनरुत्थानका क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले भने, “भारतबाट एयर इन्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको सङ्ख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौ्ँ ।”








