अमेरिकी राष्ट्रपति ट्रम्पलाई अवकास प्राप्त इजरायली सुरक्षाकर्मीको पत्र, के लेखिएको रहेछ त ?
प्रकाशित मिति : श्रावण १९, २०८२ सोमबार
फोटो : मार्क शिफेलबीन/एपी/रासस
अबकास प्राप्त ६०० भन्दा बढी इजरायली सुरक्षाकर्मीहरूको समूह ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गाजामा भइरहेको युद्ध तत्काल अन्त्य गराउन इजरायलमाथि दबाब दिन आग्रह गरेका छन् ।
उनीहरुले राष्ट्रपति ट्रम्पलाई पत्र लेखेर यो आग्रह गरेका छन । यो समूहमा गुप्तचर एजेन्सीहरूका पूर्व प्रमुखहरू पनि रहेका छन् । ‘ूहमास अब इजरायलका लागि रणनीतिक खतरा रहेन,’ उनीहरूले पत्रमा लेखेका छन् ।
‘इजरायली जनताको ठूलो हिस्सासँग तपाईंको विश्वसनीयता रहेकोले तपाईं प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको सरकारलाई सही दिशामा डोर्याउन सक्नुहुन्छ’ उनीहरुले पत्रमा आग्रह गरेका छन।
‘युद्ध अन्त्य गर्नुहोस्, बन्धकहरू फर्काउनुहोस्, पीडामा रहेका मानिसहरूलाई राहत दिनुहोस्, उनीहरूले ट्रम्पलाई पत्र मार्फत लेखेका छन्।’
नेतान्याहूले गाजामा सैनिक अभियान विस्तार गर्ने तयारी गरिरहेका बेला यो अपिल आएको हो । अहिले इजरायल र हमाससँगको अप्रत्यक्ष युद्धविराम वार्ता रोकिएको छ ।
७ अक्टोबर २०२३ मा हमासले दक्षिण इजरायलमा आक्रमण गर्दा झन्डै १ हजार २०० जना मारिएका थिए । २५१ जनालाई गाजामा बन्धक बनाएर लगिएको थियो । त्यसपछि इजरायलले गाजामा भयानक सैन्य अभियान सुरु गरेको थियो ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ६० हजार भन्दा बढी मानिस मारिइसकेका छन्।
गाजामा हाल खाद्य संकट चरम अवस्थामा पुगेको छ। इजरायलले खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीमा कडा प्रतिबन्ध लगाएकाले स्थिति भयावह भएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म १८० जनाको भोकमरीका कारण मृत्यु भएको छ । जसमा ९३ जना बालबालिका छन्। संयुक्त राष्ट्रसंघ समर्थित संस्थाहरूले गाजामा ‘अत्यन्तै भयावह अकाल’ मृत्युको अवस्था देखिएको चेतावनी दिएका छन्।
हमास र इस्लामिक जिहादले दुई जना इजरायली बन्धक भोकले थलिएका अवस्थाको भिडियो सार्वजनिक गरेपछि ती दृश्यहरूले इजरायल र पश्चिमी मुलुकहरूमा आक्रोश फैलिएको छ ।








