जुलाईमा ७० हजार बढी विदेशी पर्यटकलाई नेपालको स्वागत, अमेरिकाबाट साढे ६ हजारबढी


प्रकाशित मिति : श्रावण १६, २०८२ शुक्रबार

फाइल तस्वीर । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भु महाचैत्यको तस्बिर कैद गर्दै विदेशी पर्यटक ।

नेपालले सन् २०२५ को जुलाई महिनामा कूल ७० हजार एक सय ९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८ दशमलव ७ प्रतिशतले बढी हो ।

नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ । यसले कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्रले पुनःलयमा आएको छ ।

सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कूल छ लाख ४७ हजार आठ सय ८२ जना विदेशी पर्यटक आगमन भएको छ । जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले यो सङ्ख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुलाईमा कूल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार एक सय ५२ जना अर्थात् ३८ दशमलव ७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट छ हजार आठ सय ९० जना (९ दशमलव ८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट छ हजार छ सय २६ जना (९ दशमलव ४ प्रतिशत), बङ्गलादेशबाट चार हजार चार सय १३ जना (६ दशमलव ३ प्रतिशत) र बेलायतबाट तीन हजार पाँच सय ४७ जना (५ दशमलव १ प्रतिशत) पर्यटकको नेपालमा आगमन भएको छ ।

क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एसियाली मुलुकहरूबाट सबैभन्दा बढी ३३ हजार सात सय ८७ जना (४८ दशमलव १ प्रतिशत) छन् । अन्य एसियाली मुलुकबाट १३ हजार ५२ जना (१८दशमलव ६ प्रतिशत), युरोपबाट नौ हजार दुई सय ९२ जना (१३ दशमलव २ प्रतिशत), अमेरिकाबाट १२ हजार सात सय ७५ जना (११ दशमलव १ प्रतिशत), ओसिनिया क्षेत्रबाट एक हजार आठ सय सात जना (२ दशमलव ६ प्रतिशत), मध्यपूर्वबाट आठ सय २६ जना (१ दशमलव २ प्रतिशत), अफ्रिकाबाट तीन सय १८ जना (० दशमलव ५ प्रतिशत) र अन्य क्षेत्रबाट तीन हजार तीन सय २९ जना (४ दशमलव ७ प्रतिशत) पर्यटक आगमन भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com