अमेरिका-इरान परमाणु सम्झौता ‘नजिक’ : राष्ट्रपति ट्रम्प
प्रकाशित मिति : जेष्ठ १, २०८२ बिहीबार
President Donald Trump talks to reporters on board Air Force One on the way to Palm Beach International Airport, in West Palm Beach, Fla., Friday, April 11, 2025. (Pool via AP)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग परमाणु सम्झौता सुनिश्चित गर्न अमेरिका निकै नजिक पुगेको बताएका छन्। उनले तेहरानले सम्झौताको सर्तमा ‘केही हदसम्म सहमति जनाएको दाबी गरे। खाडी क्षेत्रको भ्रमणका क्रममा ट्रम्पले भने, ‘हामी इरानसँग दीर्घकालीन शान्तिका लागि गम्भीर वार्तामा छौं। हामी यो सम्झौता हिंसात्मक बाटो नअपनाई गर्न नजिक छौं।’
इरानी स्रोतका अनुसार, अमेरिकासँगको वार्तामा अझै केही असहमतिहरू बाँकी छन्। इरानले परमाणु हतियार नबनाउने, उच्च संवर्धित युरेनियमको भण्डार हटाउने र युरेनियमलाई नागरिक प्रयोगका लागि मात्र संवर्धन गर्ने प्रतिबद्धता जनाउन तयार रहेको इरानी अधिकारी अली शमखानीले एनबीसी न्यूजलाई बताए। तर, अमेरिकाले युरेनियम संवर्धन पूर्ण रूपमा रोक्नुपर्ने अडानलाई इरानले ूरातो रेखाू भन्दै अस्वीकार गरेको छ।
इरानका राष्ट्रपति मसुद पेजेश्कियानले ट्रम्पको टिप्पणीको जवाफमा अमेरिकालाई मध्यपूर्वमा अस्थिरताको कारण भएको आरोप लगाए। उनले भने, ‘ट्रम्पले हामीलाई प्रतिबन्ध र धम्की दिन्छन्, अनि मानवअधिकारको कुरा गर्छन्। क्षेत्रीय अस्थिरता र अपराधको कारण अमेरिका नै हो।’
यसैबीच, अमेरिका-इरान परमाणु सम्झौताको अपेक्षाले बिहीबार तेलको मूल्यमा करिब २ डलरको गिरावट आयो। पश्चिमी प्रतिबन्धहरूले इरानी अर्थतन्त्रलाई गम्भीर रूपमा प्रभावित गरेको छ। इरानी स्रोतले बताएअनुसार, तेहरानले युरेनियम भण्डारलाई चरणबद्ध रूपमा हटाउन चाहे पनि अमेरिका यसमा सहमत छैन। साथै, उच्च संवर्धित युरेनियमलाई कहाँ पठाउने भन्नेमा पनि दुवै पक्षबीच मतभेद छ।
आइतबार ओमानमा भएको इरानी र अमेरिकी वार्ताकारहरूको नयाँ चरणको वार्ता थप छलफलका लागि स्थगित भएको छ। दुवै पक्षले कूटनीतिलाई प्राथमिकता दिने बताए पनि, सम्झौताका लागि आवश्यक रातो रेखाहरूमा सहमति हुन बाँकी छ।






