भारत-पाकिस्तानबीच सैन्य तनाव बढेपछि नेपाल-भारत सीमामा उच्च कडाइ


प्रकाशित मिति : बैशाख २४, २०८२ बुधबार

रूपन्देहीको बेलहियास्थित नेपाल-भारतको सीमा क्षेत्रमा बुधबार डग स्निफिङ (कुकुरको सहायता)सहितको सुरक्षा चेकजाँच गर्दै सशस्त्र प्रहरी बल । भारत र पाकिस्तानबीच पछिल्लो समय तनाव बढ्दै गएपछि सीमामा सतर्कता बढाइएको छ । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस

भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामा समेत परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् ।

पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको छिन्नमस्ता सशस्त्र प्रहरी ब्यारेकका नायब महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए ।

धनुषाको जटही सीमा क्षेत्रमा खटिनुभएका प्रहरी नायब उपरीक्षक प्रमोद रायले भने, “हामीले सुरक्षा सतर्कता बढाएका छौँ । भारत–पाकिस्तानबीचको तनाव हाम्रो देशमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील हुने भएकाले हामी सतर्क छौँ ।”

विशेषगरी नयाँ अनुहार र शङ्कास्पद गतिविधि भएका व्यक्तिमाथि निगरानी गरिरहेको उनको भनाइ छ । स्थानीयले दैनिक जीवनमा असर परेको बताउँदै चाँडो समाधानको अपेक्षा गरेका छन् । सिमाना आसपासका बजार पनि प्रभावित भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीमावर्ती सुरक्षाकर्मी र प्रशासनले स्थानीयवासीलाई संयमता अपनाउन आग्रह गरेको धनुषा प्रहरी प्रमुख नरहरि रेग्मीले बताए ।

तालिम प्राप्त कुकुरद्वारा चेकजाँच

छिमेकी मुलुक भारत र पाकिस्तानबीच बढ्दै गएको तनावलाई लिएर रुपन्देहीका सीमामा पनि निगरानी बढाइएको छ ।

जिल्लाको मूल नाका बेलहियासँगै सहायक नाका लुम्बिनी, भगवान्पुरलगायतका नाकामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ । बेलहिया नाकामा भने तालिम प्राप्त कुकुरहरु डेजी र सायाबाट ‘डग स्निफिङ’ गराएर मात्र नेपाल प्रवेश गर्न दिइएको छ ।

सीमाबाट हुनसक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सीमाको सुरक्षार्थ ‘डग हेण्डलर’सहित यसअघि नै पठाएको ‘डेजी’ र ‘साया’ लाई बेलहिया सीमा नाकामा खटाइएको हो ।

‘डेजी’ र ‘साया’ तालिम प्राप्त कुकुर हुन् । तीन महिनाको हुँदा भारतबाट खरिद गरेर ल्याइएको जर्मन सेफर्ड प्रजातिको ‘डेजी’ ले हातहतियार तथा विष्फोटक पदार्थका सामग्री सुँघेर पत्ता लगाउनमा अब्बल छ भने नेपालमै जन्मिएको ल्याब्राडोर प्रजातिको ‘साया’ लागुऔषध प्रकृतिका साम्रगी सुँघेर पत्ता लगाउनमा अनुभवी रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्न सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसपी)सँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त रुपमा गस्ती र खबर आदानप्रदानलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए ।

यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहनेगरी पट्रोलिङ गरिएको छ । अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ भने बाहिनी मुख्यालयहरुले सोहीअनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेको थापाले बताए ।

सीमा इलाकामा आवश्यकताअनुसार आवतजावत गर्नेको परिचयपत्र जाँच गरेर अभिलेख राख्ने र निगरानी एवं जाँच तथा सुक्ष्म रुपमा खबर सङ्कलन गरिराखेको उनले बताए ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेगरी वारपार गर्नेलाई कडा निगरानी गरिएको हो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com