प्रधानमन्त्री ओली मंगलबार थाइल्याण्ड जाँदै, बिमस्टेक शिखर सम्मेलनमा सम्बोधन गर्ने


प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन मङ्गलबार बैंककतर्फ प्रस्थान गर्दै छन् ।

थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली यही चैत १९ गते दिउँसो १३ः३० बजे थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्नेछ । प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले भ्रमणको सबै आवश्यक तयारी पूरा गरिसकेको जनाइएको छ । प्रधानमन्त्री ओलीले भ्रमणका सम्बन्धमा आज सङ्घीय संसद्का दुवै सदनलाई औपचारिक जानकारीसमेत गराइसकेका छन् ।

यही चैत २० गते प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण सुरु हुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन् । थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ ।

“दुई देशबीच ६५ वर्षको कूटनीतिक इतिहासमा यो एउटा औपचारिक भ्रमणको आदानप्रदानको नयाँ सुरुआत हो । हाम्रो तर्फबाट यो विल्कुलै नयाँ सुरुआत हो”, प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधनका क्रममा भनेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले यही चैत २१ गते बिहान त्यहाका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नुहुनेछ भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।

चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन हुने कार्यक्रम रहेको छ । शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म वार्ता गर्ने प्रधानमन्त्री ओलीको योजना रहेको छ । सोही दिन मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा प्रधानन्त्री ओली सहभागी हुनेछन् । सोही दिन साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा उनी सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना रहनेछन् ।

भ्रमणको तयारीका क्रममा परराष्ट्र मन्त्रालयका दुई अधिकारी अग्रिम रूपमा बैंकक गइसकेका छन् भने थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीसहित दूतावासका चार अधिकारी नेपाल सरकारलाई कुनै आर्थिक दायित्व नपर्ने गरी भ्रमण दलमा सामेल हुनेछन् । भ्रमणमा नेपालको निजी क्षेत्रका प्रतिनिधि पनि सामेल हुनेछन् ।

प्रधानमन्त्री ओलीले भ्रमणको पूर्वतयारी र परामर्शका क्रममा आइतबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परामर्श छलफल गरेका थिए । छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदानलगायत क्षेत्रमा भ्रमणलाई मुलुकको अधिकतम हितमा उपयोग गर्न सुझाव दिइएको थियो । प्रधानमन्त्री नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्किनेछ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com