डोल्मा बेखर्ची, डोल्माका नाममा उठेको लाखौं रुपैयाँ कहाँ छ ?


प्रकाशित मिति : श्रावण १, २०७४ आईतबार

– देवेन्द्र भट्टराई

श्रावण १, २०७४- कुवेतमा १० वर्ष आजीवन कारावास सजाय भुक्तान गरेर फर्किएकी डोल्मा शेर्पा राजधानीमा बेखर्ची भएर आश्रयघरमा बसिरहेकी छन् । तर उनको नाममा उठाइएको लाखौं रकम कहाँ छ, कसैलाई थाहा छैन ।

फिलपिनो सहकर्मीको हत्या अभियोगमा कुवेती कानुनअनुसार सुरुमा मृत्युदण्ड सजाय सुनाइएकी डोल्माको सजाय ‘ब्लडमनी’ बुझाएर आजीवन कारावासमा झारिएको थियो । दस वर्ष लामो जेलजीवन कटाएर उनी एक साताअघि राजधानी फर्किएकी हुन् ।

डोल्मालाई थुनामा राखेर मृत्युदण्ड सुनाइएपछि ‘डोल्मा शेर्पा बचाऊ अभियान’ भनेर अन्तर्राष्ट्रिय तहमा सुरु भएको अभियानमा ५० लाख रुपैयाँभन्दा बढी सहयोग रकम उठेको मिडियामै सार्वजनिक भएको थियो । अहिले त्यो रकम कहाँ छ, कसैलाई थाहा छैन । उनको नाममा उठेको लाखौं रुपैयाँको खोजबिन अझै हुन सकेको छैन । ‘डोल्माले कुवेतको जेलबाट छुटकारा पाउने भएपछि हामीले पनि उनका नाममा गैरआवासीय नेपाली संघबाट उठेको रकमको खोजबिन गर्‍यौं,’ गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष हिक्मत थापाले नाइजेरियाको लेगोसबाट कान्तिपुरसँग भने, ‘उनका नाममा उठेको झन्डै ३२ लाख रुपैयाँ अहिले पनि संघको कल्याणकारी शाखामा छ । यो रकम संघको काठमाडौं केन्द्रीय कार्यालयबाट प्रक्रिया पुर्‍याएर डोल्माले लिन सक्नेछिन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थापाका अनुसार डोल्मा बचाउ अभियानअन्तर्गत २००८ को सुरुआतदेखि उठेको अन्तर्राष्ट्रिय सहयोगबाट त्यही वर्ष अप्रिलमा १ हजार डलर (१ लाख रुपैयाँ) ‘साउदी एकाउन्ट’ मा प्रत्यक्ष डिपोजिट गरिएको देखाए पनि यो एकाउन्ट कहाँ, कसको नाममा छ, स्पष्ट हुन सकेको छैन । साउदी अरेबियाको रियादस्थित दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत दिएको जनाए पनि संकलित कुनै रकम दूतावासको खातामा देखिन्न ।

डोल्मा थुनामा परेर मृत्युदण्डको सजाय सुनाइएपछि बनेको ‘डोल्मा जीवन बचाउ अभियान’ का संयोजक एवं नेपाल शेर्पा संघका पदाधिकारी ल्हाक्पा थिन्ले शेर्पाका अनुसार डोल्मा बचाउका नाममा बौद्ध–जोरपाटी यात्रामा उठेको झन्डै डेढ लाख रुपैयाँ माइती नेपाल मातहतको खातामा सुरक्षित छ भने राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाबाट उठेको रकमबारे संघ बेखबर छ । ‘गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाका अध्यक्ष तेन्जिङ शेर्पाले डोल्माको ब्लडमनी रकममा ३ लाख रुपैयाँ प्रत्यक्ष बुझाएको थाहा छ,’ शेर्पाले भने, ‘अरू संकलन र खर्चबारे जानकारी छैन ।’

डोल्माको जीवनरक्षामा नेपाल सरकारले ४ हजार डलर (बीउ पैसा) राखेको थियो भने त्यसमा ६ हजार डलर (६ लाख रुपैयाँ) थपेर ब्लडमनीबापत फिलिपिनो परिवारलाई बुझाइएको थियो । उठेको रकमबाट १२ हजार डलर डोल्माका पक्षमा लड्ने कुवेतस्थित वकिललाई बुझाइएको थियो । तर, उठेको र बचत हिसाबकिताबबारे कुनै जानकारी नभएको कुवेतस्थित एक कूटनीतिक अधिकारीले बताएका छन् । ‘मेरो जानकारीमा रहेअनुसार डोल्माका नाममा कुनै हिसाबकिताबको फाइल यहाँ दूतावासमा छैन,’ ती अधिकारीले भने ।

१० वर्षअघि डोल्माका नाममा नेपाल सरकारको पहलमा सुरु भएको सहयोग संकलन अभियानबारे परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखालाई पनि जानकारी छैन । महाशाखाका एक वरिष्ठ अधिकारी भन्छन्, ‘त्यो अभियान र संकलित रकमबारे परराष्ट्रलाई कुनै जानकारी छैन ।’ गैरसरकारी संघसंस्था र विशेषत: महिला हकअधिकारका पक्षमा बोल्ने निकायका लागि आकर्षणको नाम बनेको डोल्मा शेर्पाका श्रीमान् आङतेन्जी शेर्पा यतिखेर इराकको कुर्दिस्तानमा छन् । डोल्माका एक छोरा काठमाडौंकै एक निजी स्कुलमा माध्यमिक तहमा अध्ययनरत छन् । ‘डोल्माका छोराका नाममा ६ लाख रुपैयाँ बैंकमा जम्मा गरिएको छ, यो पनि गैरआवासीय नेपालीले गरेको सहयोग हो,’ शेर्पा संघका प्रतिनिधि ल्हाक्पा थिन्ले भन्छन् ।

डोल्मा बचाउ अभियानमा सुरुदेखि संलग्न आप्रवासी महिला कामदार समूहकी अध्यक्ष विजया राईले पनि डोल्माका नाममा उठेको रकमको पारदर्शिता कतै नरहेको बताइन् । ‘डोल्माको जीवनरक्षाका नाममा दिएको ब्लडमनीबापतको रकम, वकिलका लागि दिइएको रकम र अरू हिसाबकिताबबारे पनि कहींकतैबाट जानकारी पाउन सकिएको छैन,’ अभियन्ता राईले भनिन्, ‘साउदी अरेबिया र कुवेतको दूतावास पनि डोल्मा बचाउ अभियानको हिसाबमा बेखबर छन्, परराष्ट्र पनि थाहै नभएझैं गर्छ । अब यो हिसाबबारे कसलाई सोधपुछ गर्ने ?’

१० वर्ष लामो जेल सजाय जुन २० (असार ६) मा पूरा भएपछि डोल्मालाई कुवेत सरकारको घर फिर्ती प्रक्रिया (डिपोर्टेसन) केन्द्रमा राखिएको थियो । २००७ को जुन २० देखि जेलमा रहेकी डोल्मालाई कुवेतको उच्च अदालतले २००८ को डिसेम्बर २३ मा सहकर्मी हत्या गरेको पुष्टिसहित मृत्युदण्ड सजाय सुनाएको थियो । लगत्तै नेपाल सरकारले गरेको आग्रह र अन्तर्राष्ट्रिय रूपमा चलेको ‘डोल्मा बचाउ अभियान’ का कारण डोल्माको मृत्युदण्ड १० वर्षे जेल सजायमा रूपान्तरण भएको थियो । इस्लामिक कानुनअनुसार हत्या गरिएको परिवारले ‘ब्लड मनी’ (हत्या गरिएबापत रगतको मूल्य) स्वीकार गरेको अवस्थामा डोल्माले पाएको कठोर सजाय मिनाहा भएको थियो ।

पछिल्लो तथ्यांकमा खाडीको कुवेतमा मात्रै ६१ हजार नेपाली कामदार रहेकोमा २३ हजार घरेलु कामदार महिला छन् । दूतावासका अनुसार कुवेतका जेलमा हाल ५२ जना नेपाली रहेकोमा ३ जनालाई मृत्युदण्ड, १४ जनालाई आजीवन कारावास र अन्यलाई बढीमा १५ वर्षको जेल सजायका लागि थुनामा राखिएको छ । यसमा १ देखि १५ वर्षसम्मको जेलसजाय बेहोर्ने महिलाको संख्या ८ छ । थुनामा पर्नेमध्ये अधिकांशले लागूपदार्थ कारोबारको अभियोग बेहोरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com