नगरप्रमुखले घरबाटै ल्याए कुर्सी


प्रकाशित मिति : असार २९, २०७४ बिहीबार

– चित्रांग थापा

असार २९, २०७४- जिल्लाका सबैजसो नवनिर्वाचित जनप्रतिनिधिले शपथसँगै पदभार ग्रहण गरिसकेका छन् । स्थानीय तहमा लामो समयपछि चुनिएका नेताले गर्ने हरेक निर्णय चासोको विषय बन्दै छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐर भने कुर्सीका कारण चर्चामा छन् । उनी नगरपालिकाले किनेको आरामदायी कुर्सीमा बस्दैनन् । बरु घरबाटै सामान्य काठे कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेका छन् ।

‘१० वर्षदेखि यही कुर्सीमा बसेर जनताको सेवा गरे, ५ वर्षे कार्यकाल पनि यसैमा बिताउँछु,’ उनले मंगलबार सञ्चारकर्मीमाझ भने, ‘म सामान्य जनताको छोरो, उनीहरू सरह नै बस्न चाहान्छु ।’ आफूलाइ कुर्सी मोहभन्दा जनताको सेवा गर्ने चाहना रहेको उनले बताए ।

नगरपालिकाले नवनिर्वाचित प्रमुख र उपप्रमुखको कार्यकक्ष व्यवस्थापन गर्न कार्यालयनजिकै झलारी बजारमा दुई कोठा भाडामा लिएको छ । दुवै कोठामा ठूलो टेबुल, सोफा र केही कुर्सी राखिएका छन् । ऐरको कार्यकक्षमा नगरपालिकाले किनिदिएको महँगो कुर्सी तौलियाले छोपेर राखिएको छ । उनी त्यसको छेउमै घरबाट ल्याएको कुर्सीमा बसेर काम गरिरहन्छन् ।

‘चुनाव जितेपछि शपथ ग्रहणका लागि हिँडेरै आएँ,’ उनले भने, ‘सामान्य जनताको छोरोले धेरै तडकभडक गर्न सुहाउँदैन ।’ प्रमुख ऐर कांग्रेस र उपप्रमुख तुलसी हमाल एमालेबाट निर्वाचित भएका हुन् । नगरप्रमुखको कुर्सी प्रकरण यति बेला सामाजिक सञ्जालमा पनि निकै छाएको छ ।

स्थानीय बासिन्दाका हरेक कामकाजमा सहभागी हुने ऐर सामान्य परिवारका व्यक्ति हुन् । आफ्नो नगरपालिकामा आरक्षपीडित र सुकुम्बासीको पुन:स्थापनालाई मुख्य चुनौती ठानेका छन् उनले । नगरपालिकाको पहिलो बैठकमा पारित ४ निर्णयमध्ये आरक्ष र सुुकम्बासी समस्या समाधानको एजेन्डा प्रमुख बनेको ऐरले बताए । ‘१२ वटै वडामा कार्यालय, नगरपालिकाभित्र नदी कटान नियन्त्रण र नगर क्षेत्रभित्र ५० बेडको अस्पताल स्थापना गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘बहुसंख्यक जनताले व्यहोरेका समस्या समाधान गर्ने लक्ष्य छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com