अमेरिका होइन, युएई आउनुस्


प्रकाशित मिति : असार २८, २०७४ बुधबार

मेघराज सापकोटा

असार २८, २०७४- तपाईं अमेरिका जान सक्नु भएन ? तपाईं युरोप जान सक्नु भएन ? जापान जान सक्नु भएन ? दलालले पैसा खायो ? हातमा सीप, क्षमता र योग्यता छ ? अमेरिका र युरोप जान किन मरिहत्ते गर्नु हुन्छ ? तपाईं अमेरिका गएर महिनाको एक दुई हजार डलर मात्रै कमाउने हैन ? अब त्यता हैन यता आउनुस् ।

अमेरिका निवासी नवीन रायमाझीले गत असार ११ गते कान्तिपुरमा एउटा ब्लग लेखे, ‘अमेरिका: सबै आउनुस् तर दलालको पछि लागेर नआउनुस् ।’ यो ब्लग पढे पछि केही कुराहरु लेख्न जरुरी ठानें । धेरै जसो लेखमा प्राय: दलालको कुरा सुनेर अमेरिका नआउन अनुरोध गरिएको हुन्छ ।

अमेरिका एक खालका नेपालीका सपनाको देश हो । विश्वभरीका आप्रवासन हुने मान्छेले कल्पना गरेको स्वर्गको देश हो । अरु बेला खानदानकी छोरी वा छोरासँग माया प्रिती नै बसे पनि बिहे गर्न डराउनु पर्नेमा अमेरिका जाने भए पछि छानी छानी घरानाकी छोरी झ्याइँ झ्याइँ विवाह गर्न पाइने देश हो । अरुबेला एक दुई लाख पनि नपत्याउने साहुहरुले अमेरिकाको भिसा लागेपछि लाखौं रुपैयाँ झ्याप्प पत्याउने देश हो । त्यसैले पनि अमेरिकाको नाम लियो कि सबैलाई कता कता बाट फाइफुर्ती बढिहाल्ने । अमेरिका गए पछि वा जाने भए पछि अरुलाई मान्छे नगन्ने र आफू भने मंगल ग्रहतिरबाट झरेकै जस्तो गर्ने अनुभूति गर्न सिकाउने देश हो । अन्य जुनसुकै देशमा जाउन न अमेरिकाको पासपोर्ट बाहक भएपछि अध्यागमनका कर्मचारीको व्यवहार पनि बेग्लै हुन्छ रे । अनी दलाललाई ५० लाख खर्च गरेर यस्तो देशमा जान को तयार नहुँदो हो त ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका गइसकेकाले नेपालमा रहनेलाई नआइज भन्ने, नेपालमा हुनेलाई जाउँ जाउँ लाग्ने रोजाइका पहिलो देश  हो अमेरिका । ताल परे सर्बसाधरणले पनि झुटो डकुमेन्ट पेश गरेर भिसा प्राप्त गरी लुकेर बस्न पाउने देश, ताल नपरे सत्य तथ्य डकुमेन्ट पेश गरे पनि नेता र ब्यापारीले घुम्न जान नपाउने देश हो । यो देशमा मान्छेहरु मरिहत्ते गरेर किन जान मन पराउँछन् ? आफ्नो स्वाभिमान र इज्जतलाई धुलिसात गर्ने गरी अमेरिकामा नेपालका उच्च स्तरका सरकारी कर्मचारी, प्रहरी सेनाका हाकिम, नेताहरु किन लुकेर बस्न मन पराउँछन् त ? अमेरिकाको भिसा लागे पछि नेपालमा सबैका दिन फिर्छन । अमेरिकाको भिसा लागेर अमेरिका जाने भए देखी नै सानो जात, ठुलो जात, धर्म, वर्ण, कालो, गोरो, होचो, अग्लो, धनी, गरीब सब समान हुन थाल्छन् नेपालमा । आखिर किन ? यस्ता प्रश्नका उत्तर बिरलै पाइन्छन् ।

मेरा एक जना नजिकका मित्र हुनुहुन्छ । उनी युएई बसेर आफ्नै ब्यापार गर्छन् । अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, लगायत विश्वका धेरै देशको भ्रमण गरिसकेका छन् । मैले उनलाई सोधे, ‘अमेरिकामा तपाईंले के पाउनु भो त्यस्तो जुन नेपालमा छैन्  ?’‘नेपालमा के छ र धेरै थोक छैन, अझ भनौ केही पनि छैन,’ उनको जवाफ थियो । उनका अनुसार नेपालको आर्थिक बिकाससँग मात्र जोडिएको थिएन बरु समग्र मानब सभ्यता र मानव अधिकारसँग जोडिएको थियो ।

उनले एकदिनको एउटा सामान्य घटना सुनाए । अमेरिकी मित्रहरुसँग मिटिङको तयारी हुँदै थियो । दिउँसोको १ बजेको हुँदो हो । परिवारसहित गएका उनी आफ्नी ३ वर्षीया छोरी सँगै मिटिङमा बसेका थिए । बैठक सुरु हुन केही ढिलाई हुँदा आफ्नी ३ वर्षीय छोरी चिच्याइन्, ‘लेट्स स्टप, क्यान्सिल आवर मिटिङ’ । छोरीलाई चुप लगाउन नपाउँदै ती अमेरिकी मित्रहरु जुरुक्क उठे र भने,‘लेट्स पोस्टपोन्ड आवर मीटिङ फर टुमरो ।’ त्यस दिनको बैठक स्थगित भयो । ३ वर्षीया छोरीको कुरालाई उनीहरुले माने र अर्को दिनको लागि बैठक तय गरियो ।

तपाईंलाई अमेरिकामा लागेको खास कुरा चाँही के छ ? मानब अधिकार र विभेदरहीत समाज । म धेरै दिन अमेरिका घुमेको छु तर कसैले तँ कुन देशबाट आइस् भनेर सोध्दैन, उनले भने । जात धर्म त परैको कुरा हो भौगोलिक आधारमा पनि विभेद छैन । एसियादेखि अफ्रिका र अन्टार्टिका देखि अस्ट्रेलिया सम्मका मान्छेहरु अँटेका छन् । रैतीदेखि राजा सम्म र धनी देखि गरिबसम्म अट्न सक्ने देश अमेरिका नै हो ।

हामी नेपालमा कम्युनिजमको नारा लगाउछौं । पुँजिवाद र कम्युनिजमको आधारभूत बिशेषताहरु हेर्न अमेरिका जानु पर्छ । राज्यले नागरिकलाई शिक्षा र स्वास्थ्यमा बिभेद गर्दैन । आफ्ना नागरिकलाई रोजगारीको ग्यारेन्टी गरिदिन्छ । राज्यले सामाजिक सुरक्षाको ग्यारेन्टी गरिदिएको छ । सामाजिक सुरक्षा भन्नाले आफ्नो र आफ्ना छोराछोरीका बसोबास, शिक्षा, स्वास्थ्यको जिम्मा राज्यले लिन्छ । बुढेसकालको भत्तामा कसैले राजनैतिक नारा लगाउन जरुरी छैन । त्यसैगरी नागरिकहरु पनि राज्यलाई कर तिर्छन् । राज्यप्रतिको उत्तरदायित्व जनताले उसै गरी निभाएका छन् । पूँजीवादको नाममा सरकारका कलकारखानाहरु कौडीका भाउमा बेचेर खाने नेताले राज्यले के कस्तो ब्यापार गर्न हुन्छ के कस्तो गर्न हुन्न भनेर हेर्न अमेरिका गए हुन्छ । मुलभूत रुपमा यिनै कारणहरुले गर्दा अमेरिका जान जो पनि मरिहत्ते गर्छन् । त्यसो त यूरोपमा पनि यी कुराहरुको उपलब्धता छ तर विश्वभर छाएको अमेरिकाको बैभव, विकास, एकछत्र हैकम आदि कारणले पनि धेरै जसोले अमेरिकाको सपना देख्ने गरेका छन ।

एकपटक अमेरिका गए पछि धेरै नेपालीहरु उतै भासिन्छन् । अमेरिकामा स्थापित हुन खोज्ने कारणले गर्दा धेरै बर्षसम्म उनीहरु ग्रीन कार्ड र पासपोर्टको खोजीमा भौंतारिन्छन् । त्यसपछि सस्तो ब्याजदरको ऋणमा २० बर्षसम्मको किस्ताबन्दीमा फ्ल्याट खरिद गर्ने, टेलिफोन, बिजुली र क्रेडिट कार्डको नियमित किस्ताबन्दी र हवाई जहाजको महँगो टिकटले गर्दा नेपाल आउने मौका उसले बिरलै पाउँछ । नेपाल आउनको लागि उसले महिनाबारी तिर्ने उक्त शीर्षकका खर्चहरुको जोहो पहिले नै गरेर हिंड्नु पर्ने हुन्छ ।

तिरेन भने कालो सूचीमा परिने र राज्यबाट लिने कुनै पनि सुविधाबाट बञ्चित हुनु पर्ने हुन्छ । ज्यान एक्लो भए त ठिकै छ परिवारसहित भए नेपाल भ्रमण अझै धेरै महुगो पर्न जान्छ । त्यसैले छोरो अमेरिका भासिए पछि नेपालमा बाबुआमाले दु:ख पाउँछन भन्नेहरु आजकल धेरै भेटिन्छन् ।

मेरा एक जना आफन्त अमेरिकामा हुनुहुन्छ । अमेरिका गएको १० बर्ष भन्दा बढी भयो । सुरुको ५ बर्ष उनले पढाई सकाउन खर्च गरे । अर्को ५ बर्ष सरकारी सेवा सकेर अब उनी नेपाल फर्कने तरखरमा छन् । अमेरिका गए पछिको उनको नेपाल फर्काइ यो पहिलो पटक हो । उनले यो १० बर्षमा माथि भनिए जस्तै सबैथोक गरे । आफ्नै फ्ल्याट किने (किस्ता तिरिसक्न अझै १५ बर्ष जती बाँकी छ) । अहिले हातमा अमेरिकन पासपोर्ट बोकेर उनी नेपाल फर्कदैछन । यो बीचमा म १० पटक भन्दा बढी नै नेपाल ओहोर दोहोर गरिरहेको छु ।

एक दिन उनीसँग मैले अमेरिका जाने इच्छा प्रकट गरें । उनले घुम्न जाने कि लुक्न भनेर सोधे । मैले अवसर पाए उतै लुक्ने र काम गरेर पैसा कमाउने बताएँ । उनले मेरो मासिक कमाइ, खर्च र बचत सोधे । यहाँको काम र बसाइको अवस्था सोधे । बाबुआमाको बारेमा सोधे । घरबारको बारेमा सोधे र बिदेश बसाईको अवधी सोधे । अन्तिममा उनले भने,‘बिदेश बसुन्जेल दुबई नै बस्नु । त्यस पश्चात नेपाल जानु ।’ अमेरिकाको बसाई र धपेडी देखेर उनी दिक्क भइसकेका छन् । उनलाई कसैले सुनाएछ, ‘१० बर्षको अवधिमा नेपालमा धेरै कायापलट भएको छ । नयाँ पिंढीहरुको सोच र रहनसहनमा आकाश जमिनको अन्तर भएको छ । अहिले उनलाई आफूलाई नयाँ बाताबरणमा कसरी समाहित गर्ने भन्ने चिन्ता बढेको छ ।

पैसा र कमाईको हिसाबले अब अमेरिका खासै आकर्षक मुलुक रहेन । विशेष गरी मध्यम वर्गीय परिवारको लागि कमाइ र बचतका हिसाबले खाडी मुलुकहरु अमेरिका भन्दा कम छैनन् । अमेरिकामा एक जना नेपालीको आय एक हप्तामा सालाखाला ५ सय डलर अर्थात महिनामा २ हजार डलर हो । खाडी मुलुकहरुमा २ हजार डलर खाने नेपालीहरु आजकल धेरै भेटिन्छन् । अझ खाडीमा त २ हजार डलर तलब खाएर बर्षको ३० दिन तलबी बिदा र नेपाल आउने जाने टिकट पनि पाइन्छ । कतिपय कम्पनीले बस्ने ब्यवस्था पनि गरिदिन्छन । निश्चित तलब भए पछी सस्तोमा बैंकबाट ऋणमा गाडी पाईन्छ । ब्यक्तिगत ऋण पाइन्छ । क्षमता भए सम्म आफ्ना आमाबुवा र आफन्तलाई विदेश घुमाएर पठाउन पनि सजिलो छ । जम्मा ४ घण्टा हवाईजहाजको यात्रा गरेपछि नेपाल पुगिन्छ ।

युएईमा ड्राइभरको तलब ओभर टाइम गरेर ३ हजार दिर्हाम भन्दा बढी हुन्छ । सामान्य कामदार भएर आउनेहरु अहिले अफिसका म्यानेजर बनेका छन् । इन्जिनियरहरुले १० हजार दिर्हामदेखि बीस पच्चिस दिर्हामसम्म मासिक रुपमा कमाउछन् । सामान्य एकाउन्टेन्टहरुले ५ हजारदेखि आठ, दस हजार दिर्हाम सम्म कमाएकै छन । नर्सहरुले ३ हजारदेखि ५ हजार दिर्हाम सम्म कमाउने गरेका छन । सेल्समा काम गर्ने नेपालीले दोकान र ब्राण्ड हेरी महिनाको तीन चार हजार दिर्हाम कमाउँछन् । ठूलो मसिनरी, ट्रक र लरी चलाऊनेले महिनाको ५ हजार दिर्हाम भन्दा बढी कमाउछन् । सेक्युरिटीमा काम गर्नेहरुले सालाखाला २५ सय दिर्हाम कमाउछन् । प्रहरी सेवामा काम गर्नेहरुले ४ हजार दिर्हाम कमाउँछन् । घरमा काम गर्नेहरुले १२ सय देखी २५ सय दिर्हाम सम्म कमाउने गर्दछन् । योदेखि बाहेक उनीहरुले वार्षिक वा प्रत्येक २ बर्षमा नेपाल जाने दुई तर्फी टिकट, वार्षिक ३० दिनको तलबी बिदा र खाने बस्ने सुबिधा त छँदैछन् ।

मेरा धेरै साथीहरु युरोपमा हुनुहुन्छ । उनीहरुमध्ये एक जना मन मिल्ने साथीलाई मैले के काम गर्नुहुन्छ भनेर सोधे । उनको उत्तर यस्तो थियो,‘मस्काउने, धस्काउने र चम्काउने’ । अथवा होटलमा भाडा माँझ्ने । अमेरिकामा पनि धेरै साथीहरु पेट्रोल पम्प र ग्रोसरीमा काम गर्नु हुन्छ । आखिर यतिट नै गर्न त्यति ठुलो रकम खर्च गरेर किन अमेरिका र युरोप जानु पर्‍यो ?

युएईमा तपाईं कुनै ब्यापार व्यवसाय गर्न चाहनुहुन्छ ? कयौं नेपालीले आफ्नै ब्यवसाय पनि गरेकै छन् । ठूला ठूला कम्पनी देखि ग्रोसरी र रेस्टुरेन्ट ब्यवसाय सन्चालन गरेर प्रगति उन्नती गरेकै छन । तपाईंलाई बिदेशमा राजनीति गर्न मन छ ? यहाँ कांग्रेस, एमाले, माओवादी, राप्रपा, ससफो, जनजाती सबै पार्टी छन् । समाजसेवा गर्ने हो ? एनआरएनए, नेपाली समाज, जिल्लागत संस्था गरेर १०० को हाराहारीमा संस्था छन् । बिदेश बसेर पत्रकारिता गर्ने मन हो भने त्यो पनि पाईन्छ ।  किन जानु हुन्छ अमेरिका ? बरु आउनुस् यतै ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com