गल्फ खेलमा आनन्द कहाँनेर आउँछ ?


प्रकाशित मिति : असार २६, २०७४ सोमबार

– मनबहादुर बस्नेत

सबै कुरा ठीकठाक भइदिएको भए प्रतिमा शेर्पा, १८, यतिखेर नेपालकै पहिलो प्रोफेसनल गल्फ खेलाडी भइसक्थिन् । किनभने उनले पाँच वर्षअघि नै २१ वर्षमुनिकाको सबैभन्दा ठूलो टुर्नामेन्ट फाल्डो सिरिज जितिसकेकी थिइन् । विश्वभरका फाल्डो सिरिज च्याम्पियनहरुको प्रतिस्पर्धा हुने गर्छ । तर विदेश जाने कागजात नहुँदा उनी विश्वव्यापी स्पर्धामा उत्रन सकिनन् । बुवाको नागरिकता हराएर नयाँ नबनेपछि प्रतिमाको समेत कागजात बनेन । फाल्डो सिरिजको विश्वव्यापी विजेताहरुसँग खेल्न नपाए पनि उनी यति बेला भने अमेरिकाको क्यालिफोर्नियास्थित भेन्टुराको गल्फ एकेडेमी अफ ओलिभिया लिङ्स गल्फ कोर्समा प्रशिक्षार्थीका रुपमा छानिएकी छिन् । यसै सन्दर्भमा प्रतिमासँगको कुराकानी :

गल्फ खेलतिर कसरी आकर्षित हुनुभयो ? 
मेरा बा २४ वर्षदेखि रोयल नेपाल गल्फ क्लबमा काम गर्नुहुन्छ । आमाले भने तीन वर्षअघि छोड्नुभयो । हामी गल्फ क्लबभित्रै बस्दै आएकाले म यो खेल खेलेको देखिरहन्थेँ । अनि हामी दाउराले बल हान्थ्यौँ । एकदिन एक व्यक्तिले बोलाएर भोलिदेखि प्राक्टिस गर्न आउनू भने । उनी नेपाल गल्फ एसोसिएसनका अध्यक्ष तासी घले रहेछन् । यो सन् २०१० तिरको कुरा हो ।

गल्फ त धनाढ्यहरूको खेल भनिन्छ । तपाईं सामान्य परिवारको व्यक्ति, कसरी जुटाउनुभयो खर्च ? 
म अभ्यासमा गएर राम्रो खेल्न थालेँ । त्यसपछि मलाई उहाँहरूले सबैकुरा ‘फ्री’ गरिदिनुभयो । अहिलेसम्म पनि मैले खर्च गर्नुपरेको छैन । आफ्नै खर्चले त कहाँ खेल्न सक्नु !

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गल्फ खेलेरै जीवन निर्वाह हुन्छ त ? 
प्रोफेसनल बनियो भने हुन्छ । प्रोफेसनल टुर्नामेन्टमा नगद पुरस्कारहरू हुने भएकाले खासै गाह्रो नहोला ।

तपाईंलाई कुनै दिन गल्फ यति राम्रो खेल्छु जस्तो लागेको थियो ? 
थिएन । गल्फ खेल्छु भन्ने सोचेकै थिइनँ । अकस्मात् मौका आएर खेल्न थालियो । रमाइलोका लागि हामी दाउराले स्विङ गथ्र्यौं । त्यति हो ।

गल्फ कोर्टमै हुर्किनुभयो । सानैदेखि गल्फर बन्छु भन्ने लाग्नुपर्ने नि ? 
सानोमा त्यस्तो लाग्दैन थियो । राम्रो पढेर जागिर खान्छु जस्तो लाग्थ्यो । मेरो एकाउन्ट विषय राम्रो थियो । गल्फ खेल्न आउने दाइहरूलाई चिनेको थिएँ । राम्रो पढेपछि उहाँहरूले जागिर खोजिदिनुहुन्छ जस्तो चाहिँ लाग्थ्यो । सायद चार्टर एकाउन्टेन्ट पो बन्थें कि । बाआमाले पनि खेलेर केही हुँदैन भनेर पढ्न जोड गर्नुहुन्थ्यो ।

अमेरिकामा तालिम लिएर फर्केपछि कस्तो उपलब्धि होला ?
आफ्नो कमजोरी के रहेछ भन्ने थाहा पाउनेछु जस्तो लाग्छ । तालिममा नयाँ कुरा त पक्कै सिक्नेछु । आफ्नो गल्ती सुधारको मौका समेत पाउनेछु जस्तो लाग्छ ।

यहाँ पनि अभ्यास गर्नुहुन्छ । कमजोरी त थाहै होला नि ? 
जति थाहा छ, त्योभन्दा बढी हुनसक्छ । मलाई रूखहरू छलेर हान्नुपर्दा त्यत्ति धेरै आउँदैन । यो कुरा त्यहाँ सिकेर राम्रो गर्नेछु ।  अर्को कुरा यहाँ ‘लङ’, ‘सर्ट’ जस्तोसुकै हान्नुपरे पनि एउटै गुरु हो । मैले सुनेसम्म अमेरिकामा फरक फरक गुरुहरुले सिकाउनुहुन्छ । त्यसबाट मेरो कमजोरी बढी पत्ता लाग्छ होला ।

अब तपाईंको लक्ष्य चाहिँ के हुन्छ ? 
नेपालको पहिलो महिला प्रोफेसनल गल्फर बनेर कीर्तिमान राख्ने । अहिलेसम्म कोही पनि महिला प्रोफेसनल छैनन् । त्यो ठाउँ म लिन चाहन्छु । अबको एक वर्षभित्र मैले यो लक्ष्य पूरा गर्ने आशा राखेकी छु । त्यसपछि पुरुष गल्फरहरूसँग खेलेर टुर्नामेन्ट जित्न चाहन्छु ।

कहिलेकाहीँ यो खेल छोडिदिउँ जस्तो लागेन ? 
एकपटक भयो । सन् २०१२ र २०१४ मा म फाल्डो टुर्नामेन्ट जितेर पनि बाहिर जान पाइनँ । पहिलोपटक जान नपाउँदा त फेरि जित्छु अनि जान्छु भन्ने लागेर केही जस्तो लागेन । तर दोस्रो पटकसमेत जान नपाएपछि चाहिँ खेल्नै बन्द गरिदिएँ । एक महिना अभ्यासमा गइनँ । पछि गुरु, अन्य दाइहरूले सम्झाएपछि फेरि खेल्न थालेँ ।

वास्तवमा गल्फ कस्तो खेल रहेछ ? 
यो बल मात्र हान्ने खेल होइन । मस्तिष्कलाई एकत्रित गरिरहनुपर्छ । ट्रिकहरू लगाइराख्नुपर्छ ।

गल्फ खेलमा आनन्द कहाँनेर आउँछ ? 
यो आ–आफूलाई लाग्ने कुरा हो । मलाई चाहिँ जति माथि र टाढा बल स्विङ गर्‍यो उति मज्जा हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com