माओवादी केन्द्रको आन्तरिक चुनावी समीक्षा- तेस्रै तर निकै कम


प्रकाशित मिति : असार २६, २०७४ सोमबार

असार २६, २०७४- सत्ता साझेदार माओवादी केन्द्रले दुई चरणका स्थानीय तह निर्वाचनबाट तेस्रो हैसियत सुरक्षित गरे पनि अपेक्षाकृत परिणाम नआएको विश्लेषण गरेको छ । रोल्पा, अर्घाखाँचीजस्ता जित्न सकिने भनिएका जिल्लामा हार बेहोर्नुलाई माओवादी केन्द्रले गम्भीर समीक्षाको विषय बनाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले चुनाव परिणाम समीक्षाका लागि पार्टी सचिवालय बैठक डाक्न निर्देशन दिइसकेका छन् ।

‘सयभन्दा बढी स्थानीय तह जित्न सकिने हाम्रो अपेक्षा थियो, त्यसअनुसार परिणाम हासिल भएको छैन,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘किन अपेक्षाकृत परिणाम आएन भन्ने विषयमा ग्राउन्डकै रिपोर्ट लिएर निर्मम समीक्षा गर्दैछौं ।’ माओवादी केन्द्रले स्थानीय तह चुनावमा पार्टीको समग्र अवस्थाबारे समीक्षा गर्न साउन २ गते पार्टी सचिवालयको विस्तारित बैठक डाकेको छ । पहिलो र दोस्रो दुवै चरणको चुनाव समीक्षा गर्न प्रदेश २ बाहेकका सबै जिल्ला इञ्चार्जलाई पार्टी केन्द्रले काठमाडौं डाकिसकेको छ ।

पहिलो र दोस्रो दुवै चरणका स्थानीय तह चुनावमा माओवादी केन्द्र तेस्रो हैसियतमा छ । दोस्रो चरणको निर्वाचनमा माओवादीले ३८ स्थानीय तहमा प्रमुख जितेको छ । चुनाव भएका ६७ जिल्लामध्ये २४ जिल्लामा माओवादीले कुनै पनि स्थानीय तह जित्न सकेन । मेची अञ्चलमा पाँचथरको मिक्लाजुङ गाउँपालिकाबाहेक अन्यत्र सबै स्थानमा माओवादीले पराजय बेहोर्‍यो । अधिकांश ठाउँमा दोस्रो स्थान ल्याउनसमेत मुस्किल पर्‍यो । प्रवक्ता भुसालले २०६४ सालको संविधानसभा चुनावमा माओवादीले राष्ट्रव्यापी लहर ल्याउँदै गर्दा पनि पूर्वका पहाडमा उल्लेख्य प्रगति नगरेको भन्दै अहिलेको परिणामलाई स्वाभाविक रूपमा लिनुपर्ने तर्क गरिन् ।

पछिल्लो राजनीतिक प्रतिस्पर्धामा तेस्रो देखिनुलाई पार्टीले स्वाभाविक रूपमा लिए पनि जित्ने उम्मेदवारको सिट संख्या अपेक्षाभन्दा कम आएको भन्दै अध्यक्ष दाहालले निकटस्थसित असन्तुष्टि व्यक्त गरेका छन् । उनले टुटफुटपछि एकीकृत पार्टीले यसबीचमा सरकारमा गएर जनताको बीचमा प्रगतिशील काम देखाइसकेको भन्दै त्यसलाई चुनावी एजेन्डाका रूपमा स्थापित गर्न पार्टी संगठन चुकिरहेको भन्दै आगामी चुनावहरूका लागि रणनीति कोर्न थालेको पार्टी उच्च स्रोतले बतायो । दाहाल आफैंले हरेक जिल्ला र स्थानीय तहको हालको चुनावी परिणामबारे तथ्यांक मगाएर अध्ययन गरिरहेको स्रोतको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘स्थानीय तहको शक्ति र अधिकार दिलाउन माओवादीले गरेको योगदानलाई राम्ररी लैजाऔं,’ दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सबै नेता काठमाडौं केन्द्रित भएर पार्टी चल्दैन, हाम्रो आधार गाउँ नै हो, हामी सबै उता फर्कनुपर्‍यो ।’

पार्टी स्रोतका अनुसार सचिवालयको विस्तारित बैठकअघि अध्यक्ष दाहालले छुट्टै हेडक्वार्टर बैठक राखेर चुनाव समीक्षा र आगामी दुई चुनावको रणनीतिसम्बन्धी गृहकार्य गर्नेछन् । ‘पोहोर पार्टी एकता गरेर माओवादी धारहरूलाई एक ठाउँ ल्याए पनि जिल्लाहरूमा एकताको स्पिरिट पैदा गर्न नसकिएको समीक्षा भएको छ,’ अर्का माओवादी नेताले भने, ‘तर जनयुद्धकालको सांगठनिक आधार भएका केही जिल्लामा समेत पराजय बेहोर्नुलाई हामीले सामान्य रूपमा लिएका छैनौं । अब त्यसैअनुसारको रणनीति बन्छ ।’

माओवादी घटकहरूबीच पोहोर जेठमा पार्टी एकता भए पनि माओवादी केन्द्रले एकताका आधारमा जिल्लाहरूमा संगठन व्यवस्थित गर्न सकेको छैन । कांग्रेस र एमालेका उम्मेदवार आकांक्षीहरूमा देखिएको आन्तरिक प्रतिस्पर्धा र अन्तर्घातको रोग आफूभित्र पनि सरेको माओवादी केन्द्रको मूल्यांकन छ । कमजोर सांगठानिक पकड भएका जिल्लाबाहेक अन्यत्र उम्मेदवारी दर्ताका क्रममा अस्वस्थ प्रतिस्पर्धा भएको पार्टीको बुझाइ छ ।

‘स्थानीय चुनाव जसरी पनि जित्न अरू पार्टीहरूले गैरराजनीतिक क्षेत्रबाट उम्मेदवारी दिएको पनि देखियो, त्यसबारे पार्टीले दृष्टिकोण बनाउने छ,’ भुसालले भनिन्, ‘आर्थिक स्रोतको अथाह दुरुपयोग, चुनाव जित्नका लागि गरिएका हत्कण्डाहरूबारे जनतालाई बुझाउनुपर्ने देखिएको छ, स्थानीय मुद्दा र राजनीतिक एजेन्डाबीच स्पष्ट धारणा जनताबीच लैजाने क्रममा केही त्रुटि भएको कुरालाई हामी समीक्षा गर्दैछौं ।’

माओवादी नेता अग्निप्रसाद सापकोटाले पार्टीले अपेक्षा गरेको र पाएको मत तुलना गर्दै आगामी रणनीति बनाइने जानकारी दिए । ‘पार्टीको संगठन र राजनीतिक प्रभाव सबैतिर छ भन्ने त चुनावले देखाइहाल्यो, तर व्यवस्थित ढंगले लैजानमा देखिएका त्रुटि सच्याउँदै छौं,’ सापकोटाले भने ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com