तेब्बर भाडा असुल्छन् ट्याक्सी


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

असार २४, २०७४- पुतलीबजार नगरपालिका–४ नागडाँडादेखि आँधीखोला गाउँपालिका सेतीदोभान, जुग्ले चल्ने ट्याक्सीले आफूखुसी भाडा असुल्ने गरेको गुनासो यात्रुहरूले गरेका छन् ।
सार्वजनिक यातायातका सवारी वर्षायाममा पहिरोले ठाउँ–ठाउँ रोकिने र ढिला हुँदा धेरैले ट्याक्सी चढ्छन् । यही मौकामा चालकले प्रचलित दरभन्दा तेब्बर लिने गरेको यात्रुको गुनासो छ । मंगलबार बेलुका नागडाँडादेखि जुग्ले जान सार्वजनिक यातायात कुरेर बसेका यात्रु बस नआएर अलपत्र परेका थिए । विकल्प नभएपछि ट्याक्सी खोजे । जुग्लेसम्म पुग्दा ट्याक्सीले प्रतिव्यक्ति तीन सय रुपैयाँ भाडा तिर्न बाध्य पारेको उनीहरूले बताए ।
यो रुटमा नियमित भाडादर सय रुपैयाँ मात्र हो । जुग्लेकी मीनादेवी लामिछानेले भनिन्, ‘अप्ठ्यारामा परेकाबाट ट्याक्सीले तेब्बर भाडा असुल्यो ।’ स्याङ्जाबाट पोखराको दूरी ३४ किमि छ । भाडा जम्मा २ सय ५० हो । उनले भनिन्, ‘नागडाँडादेखि जुग्ले अन्दाजी ७/८ किलोमिटरभन्दा बढी छैन । बढी भाडा लिनेको अनुगमन कसैले नगर्दा रहेछन् ।’ भाडादर तोकिएभन्दा दोब्बर/तेब्बर तिर्नुपर्ने यात्रुलाई बाध्यता रहेको उनले बताइन् । ‘हाइवेको साटो गाउँतिर चल्ने गाडीको कन्डिसन र लिने भाडाबारे अनुगमन हुनुपर्छ,’ उनले भनिन्, ‘चेक नहुने भएर होला, गाउँतिर मनपरी छ ।’ सार्वजनिक सेवाका गाडी नियमित हुँदा भने यात्रुलाई सजिलै हुने गरेको छ ।
‘समय–समयमा तोकिएका गाडी मात्र चल्छन्,’ स्थानीय रवीन्द्रबहादुर क्षेत्रीले भने, ‘ट्याक्सीले धेरै ठग्ने भनेको बाहिरबाट आउनेलाई हो । हामी पनि पाहुनाले तिरेको रकम सुनेर हैरान हुन्छौं ।’ ट्याक्सी व्यवसायी भने बाटो बिग्रेको र खराब मौसमका बेला चालकले प्रचलितभन्दा बढी भाडा लिनुलाई अनौठो मान्न नहुने बताउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com