टाट पल्टिँदा पनि हारेनन्


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

असार २४, २०७४- कुनै एक समयमा चर्चित व्यापारी थिए, उनी । आफ्नै कम्पनी, आलिसान महल र महँगा गाडी पनि थिए उनीसँग । व्यापार राम्रै फस्टाएको थियो । आम्दानी बढेसँगै उनी विलासिता जीवनमा बिस्तारै अभ्यस्त भइसकेका थिए । तर, बजारमा एकाएक मन्दी छायो ।

सन् २००८ को कुरो हो उनको कम्पनी घाटामा गयो । कम्पनी टाट पल्टिने स्थितिमै पुग्यो । कम्पनीलाई बचाउन उनले कुनै कसर बाँकी राखेनन् । आफूसँग भएका सबै जायजेथासमेत बेचे । तर, सफल हुन सकेनन् । उनका सबै सुखसुविधा तासको पत्ताझैं ढल्ने स्थिति आयो, सबै सुखसयल एकाएक खोसियो । उनी गरिब बन्न पुगे । सडकमै आउन बाध्य भए । यस्तो अवस्थामा उनी बेरोजगार भई फिरन्तेको जीवन बिताउन थालेका थिए । परिवार पाल्ने बाध्यता त छँदै थियो, आफूले आर्जन गरेको सबै सम्पत्ति गुमाएको चिन्ता पनि उनीसँग थियो । यी सबैबाट मुक्ति पाउन उनले अमेरिकास्थित एउटा कलेजमा सरसफाइको काम गर्न थाले । अर्थात् कलेजको पाले भएर काम सुरु गरे । ती संघर्षशील व्यक्ति तथा पूर्वव्यापारी हुन् अमेरिकी राज्य म्यासाच्युसेट्सका ५५ वर्षीय माइकल भाड्रयुएल ।

माइकलले अमेरिकाको चर्चित विश्वविद्यालयबाट ५४ वर्षमा कामसँगै अघिल्लो वर्ष स्नातक डिग्री हासिल गर्न भ्याए ।

आफ्नो परिश्रमले उनी त्यसमा सफल भएका हुन् । उनी जुन कलेजमा सरसफाइको काम गर्थे, त्यहीँको विद्यार्थी पनि बन्ने अवसर उनले पाए । रातभरि कलेजको सरसफाइ गर्थे अनि दिउँसोचाहिँ कक्षामा अन्य विद्यार्थीहरूसँगै बेन्चमा बस्थे । आज उनी सफल भएका छन् । उनको संघर्षका कथा धेरैलाई प्रेरणाको स्रोत बनेको छ । मानिसले केही गर्छु भनेर हिँडेपछि असम्भव भन्ने केही हुँदो रहेनछ भन्ने कुरा उनले प्रमाणित नै गरिछाडे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माइकलले म्याच्युसेट्सस्थित वसेस्टर पोलिटेक्निक इस्टिच्युट (डब्लूपीआई) मा आठ वर्षसम्म सरसफाइ कर्मचारीका रूपमा काम गरेका थिए । आफ्नो सबै कुरा खोसिएपछि आवश्यकता पूरा गर्न अत्यन्तै कम तलबमा भए पनि उनले त्यो काम रोजेका थिए । अन्य कर्मचारीको भन्दा उनको तलब आधा जति कम भए पनि उनी त्यो काम गर्न अग्रसर भएका थिए, अलिकति पनि हिच्किचाएनन् । कलेजको कार्पेटदेखि फर्ससम्म, ब्ल्याकबोर्डदेखि फोहरसम्म उनले उठाएका थिए ।

माइकल भन्छन्, ‘सन् २००८ मा बजारमा महामारीझैं फैलिएको मन्दीबाट धेरै कम्पनीहरू धराशायी भइरहेका थिए । मेरो कम्पनी पनि त्यसबाट बच्न सकेन ।’ उनको आफ्नै ‘प्लास्टरिङ कन्ट्रयाक्टर’ नामकको कम्पनी थियो । तर, उनको कम्पनी मन्दीले सिनित्तै निलेपछि उनी आफूलाई ‘असफल’ घोषित गर्ने अवस्थामा पुगेका थिए । सबै कुरा तहसनहस भएपछि दुई छाक टार्नकै लागि उनलाई समस्या भयो । त्यसपछि उनी नोकरीको खोजीमा लागे । यसका लागि धेरैको ढोका घच्घचाएका थिए ।

तर, कसैले पनि उनलाई पत्याएन । भनिन्छ, यो विश्वले असफल व्यक्तिको तुलनामा सफल व्यक्तिलाई बढी पत्याउँछ ।’ हो, उनी एकपटक असफल भइसकेकाले उनलाई पत्याउने कसले ? तर, हार मानेनन् माइकलले । जस्तोसुकै काम गर्न पनि उनले आफूलाई तयार पारे । त्यही क्रममा कलेजमा सफाइ कर्मचारीका लागि आवेदन दिएका थिए । तर, तलब कम भएकाले धेरैको आवेदन परेन । माइकल भने त्यो काम गर्न तयार भए । तलब कम भए पनि उनलाई केही सुविधा कलेजले प्रदान गरेको थियो । कलेजको पढाइ शुल्क उनलाई छुट गरिएको थियो । त्यसको फाइदा उनले उठाउने निधो गर्दै पढ्नका लागि सुर कसे । आफ्नो संघर्षकै बलमा ‘ए’ ग्रेडसहित कलेजबाट प्रमाणपत्र प्राप्त गरे ।

माइकल अगाडि भन्छन्, ‘सबै कुरा गुमाएको अवस्थामा पनि आफूमाथिको विश्वास गुमाउनु हुन्न । मैले त्यही गरें, सफल पनि भएँ । म प्रत्येक दिन केही राम्रो गर्ने र बन्ने प्रयास गरिरहें । धेरैपटक असफल पनि भएँ तर मैले कुनै पनि हालतमा पराजय स्वीकार गरिनँ । हुन त नयाँ नोकरी मेरा लागि गर्व गर्ने खालको थिएन तर पनि मैले त्यसलाई स्वीकारें । किनभने मेरो आफ्नो व्यापार चौपटै भएको अवस्था थियो । बाँकी पनि त केही थिएन । मैले सन्तान र परिवारको आँसुलाई सहन सकिनँ । कडा मेहनत गर्न अग्रसर भएँ । अब त म सफल भएको छु ।’ उनले संघर्षको बलमा पाएको डिग्री आफ्नो परिवारलाई समर्पण गरेका छन्, जसले कठोर समयमा उनलाई साथ र सहयोग गरेका थिए ।

डब्लूपीआईबाट सन् २०१६ मा मेकानिकल इन्जिनियरिङको डिग्री उनी हासिल गरेका हुन् । आफू भन्दा ३० वर्ष कनिष्ठ विद्यार्थीहरूका साथ कक्षामा उपस्थित हुँदाको क्षणहरूलाई सम्झँदै उनी भन्छन्, ‘म पाको भइसकेर पनि कक्षामा उपस्थिति हुँदाको मनोविज्ञानलाई सधैं बेवास्ता गर्दै लगन र परिश्रमका साथ पढ्न थालें । त्यसको फल पनि मैले पाएको छु ।’ हो पनि, उनले हरेक सेमिस्टरको परीक्षामा ३ दशमलव ६५ औसत ग्रेडका साथ उत्तीर्ण भएका थिए । तर, राम्रो अंक ल्याउँदा पनि उनले तत्कालै काम भने पाउन सकेनन् ।

त्यसपछि कलेजको त्यो कामलाई निरन्तरता दिने निर्णयमा उनी पुगेका थिए । उनको संघर्षका कथा जब सञ्चार माध्यमहरूमा हेडलाइन्सका रूपमा आउन थाल्यो, त्यसपछि उनलाई देशभरिबाट काम गर्नका लागि प्रस्ताव आएको हो । ‘द डेली हर्ड’ का अनुसार कन्नेक्टिकटस्थित प्रयाट एन्ट ह्वाइनी कम्पनीमा उनी जेट इन्जिनहरूको मर्मत गर्ने काम पाएका छन् । पछि उनले बोस्टनस्थित वेन्टवर्थ इन्टिच्युट अफ टेक्नोलजीबाट एरोनटिकल टेक्नोलजीबाट एसोसिएट डिग्री पनि हासिल गरे । उनको मोटारबोर्डमा ‘ओल्ड डग ह्याज न्यु जब’ भन्ने वाक्यांश सजाइएको सीएनएनले जनाएको छ ।

पूर्वव्यापारी र विलासिता जीवन बिताउने माइकलका संघर्षका कथालाई विषयवस्तु बनाएर ‘इन्डेपेन्डेन्ट डट को डट यूके’, बोस्टन ग्लोबलगायतका अखबार तथा अन्य अनलाइनमा अघिल्लो वर्ष समाचार सम्प्रेषण भएपछि भाइरल बनेको थियो । ‘नाइटली न्युज’ ले त माइकलबारे एक्सक्लुसिभ भिडियो नै सार्वजनिक गरेको थियो । फलस्वरूप उनी गत वर्षको जुलाई ११ देखि ‘प्रयाट एन्ड हवाइटनी’ कम्पनीमा कार्यरत छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com