बाह्रै महिना यातायात, हरेक वडामा हेलिप्याड


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

असार १४, २०७४- बेंसीसहर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले हरेक सडकमा बाह्रैमहिना यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।
बेंसीसहरबाहेक सबै ठाउँ गाउँले भरिएको नगरपालिकाका वडाहरूमा बर्खाको समय सवारीसाधन सञ्चालन बन्द हुँदै आएको छ । चालु आवदेखि नै ती ठाउँसम्मको बाटो बर्खामा पनि सञ्चालनमा ल्याइने, नगरपालिकाको केन्द्रदेखि ११ वटै वडासम्म पुग्ने सडक निर्माण र हरेक वडामा हेलिप्याड निर्माण गर्ने निर्णय गरेको छ । अल्पकालीन र दीर्घकालीन गरी २५ बुँदे निर्णय पत्रकारमाझ सार्वजनिक गर्दै नगरपालिका प्रमुख गुमानसिंह अर्यालले पञ्चवर्षीय रणनीतिक गुरुयोजना वर्ष दिनभित्र निर्माण गरी योजनाबद्ध ढंगले अघि बढ्ने बताए । चुनिएको झन्डै साढे १ महिनापछि जनप्रतिनिधिले बैठक आयोजना गरी निर्णय सार्वजनिक गरेको हो । अर्यालले सडक क्षेत्र उज्यालो बनाउने, ५ वर्षभित्र स्थायी रूपमा ‘डम्पिङ साइड’ निर्माण गर्ने, ५ वर्षभित्रै बालश्रम मुक्त नगरपालिका बनाइने निर्णय गरिएको बताए ।
उपप्रमुख लक्ष्मी अधिकारीसहित सबै वडाका अध्यक्ष, सदस्य, कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडल बैठकमा सहभागी थिए । बैठकले स्वास्थ्य केन्द्रको पहुँचबाट टाढा रहेका नगरपालिकाको गाउँमा नि:शुल्क स्वास्थ्य शिविर, बेंसीसहरदेखि गाउँसहर कालिकासम्म ५ वर्षभित्र स्थानीय र नगरपालिकाको संयुक्त लगानीमा सिँढी निर्माण, मापदण्डविपरीत बनाइएका होडिङ बोर्ड हटाइने, स्वीकृति लिएर सञ्चालन भइरहेकालाई करको दायरमा ल्याइने, मापदण्ड पूरा भएका सडकछेउ फुल्ने फूलका बिरुवा रोप्ने, बजार क्षेत्रभित्र सडक तथा सडकपेटीमा राखिएका सामग्री हटाउन सम्बन्धित सरोकारवालासँग समन्वय गर्नेलगायत निर्णय गरेको छ ।

आव अन्त्य नजिकिँदा जिससमा भीड
स्याङजा– हरिनाश गाउँपालिकाका चन्द्रप्रसाद शर्मा आइतबार जिससमा योजनाको काम लिएर आए । बिल तथा भरपाइका कागजातहरू बुझाएर उनी बाँकी रकम निकासा गराउन आएका थिए । उनीसँगै सोही ठाउँका अन्य तीनजना पनि फरक योजनाको काम लिएर योजना शाखामा दिनभर व्यस्त रहे । यस्तै पुतलीबजार नगरपालिकाको कोल्माका लक्षुमण गुरुङ पनि ग्रामीण बाटोको काम बाँकी रहेकाले रकम निकासा गर्नुपर्यो भन्दै आए । योजना शाखामा आउने महिलाको संख्या पनि उत्तिकै थियो । विभिन्न उपभोक्ता समितिका तर्फबाट मठमन्दिर, धारा, पाटीपौवालगायत योजनाको रकम निकासा गर्न उनीहरू आएका थिए । आव सकिन केही साता बाँकी रहँदा उपभोक्ता समितिहरू अझै विकास योजनाको सम्झौता गर्ने फाइल लिएर जिसस आउन छाडेका छैनन् । आव सकिन लाग्दा योजना माग्ने, सम्झौता, फस्योट गर्ने र सम्झौता तथा काम भएकाको भुक्तानी माग्न आउनेको भीड छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com