कालीगण्डकी करिडोर आएपछि खुसीयाली
प्रकाशित मिति : जेष्ठ २३, २०७४ मंगलबार
Kaligandaki Corridor, one of Nepal’s national pride projects, which connects northern and southern border points of Nepal, being constructed by Nepal Army, in Baglung, on Sunday, May 15, 2016. Photo: RSS
बागलुङ, २३ जेठ । घर छेउमै सडक आएपछि ७९ वर्षीय देवीदत्त पौडेल दङ्ग हुनुहुन्छ । जैमिनी नगरपालिका–५ बिनामारेका पौडेलले भन्नुभयो “नचिताएको ठाउँमा बाटो आयो ।”
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग बिनामारे जोडिएपछि स्थानीय बासिन्दा औधी खुसी छन् । यातायात सुविधा लिन डेढ–दुई घन्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पाएका छन् । सदरमुकाम बागलुङ बजार आउन छिमेकी पर्वत जिल्ला हुँदै यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
गाउँमा सडक आउने बिनामारेवासीको आशा वर्षौंपछि आएर बल्ल पूरा भएको हो । सडक विभागले जिम्मा लिएअनुसार करिडोरको मार्ग खोल्न नसक्दा स्थानीय निरास थिए । सडक खन्ने जिम्मा नेपाली सेनाले पाएपछि करिडोरको बागलुङ खण्डको कामले तीव्रता पाएको हो ।
करिडोरमा नसोचेको ढङ्गले काम भएको जैमिनी नगरपालिका–५ का गोपाल पौडेलले बताउनुभयो । “सडक विभागको काम कछुवाको गतिमा थियो, अहिले निर्माणले गति लिएको छ” पौडेलले भन्नुभयो ।
करिडोरको करिब तीन किमी सडक बिनामारेमा पर्ने जनाइएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि गाउँको चौतर्फी विकास हुनेमा स्थानीय आशावादी छन् । सडकलाई उत्पादनसँग जोड्न सक्नुपर्ने सोही ठाउँका ४९ वर्षीय कृष्ण पुरीले बताउनुभयो ।
“सडकले सबै विकासको ढोका खोलेको छ”, पुरीले भन्नुभयो “गाउँका हरेक उत्पादनलाई बजारसम्म जोड्न सकिने अवसर आएको छ ।” बिरामीदेखि सर्वसाधारणको आवतजावतमा समेत सडकले ठूलो टेवा पुग्नेछ ।
नेपाली सेनाको कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलले आगामी असारभित्रै बागलुङ खण्डमा मार्ग खोलिसक्ने जनाएको छ । सदरमुकामदेखि मालढुङ्गा–टाकुरीसम्मको १४ किमीमा भने गत वर्षदेखिनै यातायात सञ्चालनमा आएको छ ।
टाकुरी–पालुङखोला २६ किमीमा पनि अधिकांश ठाउँमा मार्ग खोल्ने काम पूरा भएको कार्यदलका प्रमुख इन्जिनियर रेश्मीराज भट्टराईले बताउनुभयो । हालैमात्र करिडोरकै सबैभन्दा जोखिमयुक्त बिनामारेस्थित कुसुनेको भीरमा सडक–मार्ग खोलिएको उहाँले बताउनुभयो ।
“पाँचसय मिटर अग्लो भिरमा जोखिम मोलेर काम ग¥र्यौैं” उहाँले भन्नुभयो, “करिडोरका अधिकांश ठाउँमा भिर, पहरा, चट्टान काटेर मार्ग खोलिएको छ ।”
सरकारले करिडोरको गुल्मी–बागलुङ ८५ किमी सडक खन्ने जिम्मा नेपाली सेनालाई दिएको छ । यन्त्रको प्रयोग गर्दा पनि पहाड काट्न नसकेपछि सेनाले ठूल्ठूला चट्टानयुक्त पहाड फोर्न बम (विस्फोटक पदार्थ) को सहायता लिने गरेको छ । करिडोर निर्माणमा सेनाका ‘बम ब्लास्टर’ देखि इन्जिनियर, प्राविधिक, डकर्मीलगायतका जनशक्ति खटिएका छन् ।
बागलुङ खण्डमा पर्ने तीनवटा खोलामा ‘बेलीब्रिज’ राख्न र सडक मर्मत–सुधारको लागि यो वर्ष करिब रु १२ करोड बजेट अभाव रहेको कार्यदलले जनाएको छ ।
सरकारले चालु आवमा रु ३३ करोड बजेट विनियोजन गरेको थियो । करिडोरको गुल्मी खण्डमा मार्गखोल्ने काम गत वर्षनै पूरा भएको छ । चारसय ३५ किमीको कालीगण्डकी करिडोर नेपाललाई उत्तरमा चीन र दक्षिणमा भारतसँग जोड्ने सबैभन्दा छोटो मार्ग हो । रासस






