क्यानडा र अमेरिकाको सिमा अत्यावश्यकबाहेकका लागि जुन २१ सम्म बन्द
प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार
अत्यावश्यकबाहेकका अन्य यात्रामा अमेरिका र क्यानडाको सिमा जुन २१ सम्म बन्द हुने भएको छ । कोरोनाको महामारीबीच दुईदेशबीचको सिमा अत्यावश्यकबाहेक अन्यका लागि बन्द गर्ने निर्णय जुन २१ सम्म लम्बाउन अमेरिका र क्यानडाबीच सहमति भएको हो ।
क्यानडाका प्रधानमन्त्री जस्टिन टु्रडोले सिमाक्षेत्र संवेदनशिल भएकाले अर्को ३० दिन बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । सुरुमा यस्तो घोषणा मार्च १८ मा गरिएको थियो भने अप्रिलमा एकपटक थपिएको थियो । यसो गर्दा दुबै देशहरु सुरक्षित हुने क्यानडाका प्रधानमन्त्रीको भनाई छ ।
तर सिमा खुल्ने त्रास क्यानडाका बासिन्दामा धेरै रहेको छ । किनभने अमेरिकामा कोभिड १९ बाट मृतकको संख्या र संक्रमितको संख्या विश्वमै सबैभन्दा धेरै रहेको छ ।
स्वास्थ्यकर्मीहरु, विमानका कर्मचारीहरु, ट्रक ड्राइभरहरु भने सिमाबाट आवातजावत गर्नसक्नेछन् । ट्रक ड्राइभरहरु खाद्यान्न र स्वास्थ्य सामाग्रीहरु लिएर आवतजावत गर्दै आएका छन् । क्यानडाको अधिकांश खाद्य आपूर्ति अमेरिका हुँदै वा अमेरिकाबाट हुने गरेको छ ।
अमेरिका फर्कन चाहने अमेरिकनहरु र क्यानडा फर्कन चाहने क्यानेडियनहरुलाई भने सिमामा आवातजावत गर्नमा कुनै रोक लगाइएको छैन । अमेरिका र क्यानडाको सिमा दुईदेशबीचको विश्वकै सबैभन्दा लामो सिमा हो ।





