अमेरिका र चीनबीच विश्वमा फैलिइरहेको महामारी रोक्न ‘ठोस कदम’ चाल्ने सहमति


प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार

विश्वमा फैलिइरहेको कोरोना भाइरस (काेभिड-१९) को संकटबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच छलफल भएको छ ।

शुक्रबार सीले समकक्षी ट्रम्पसँग माहामारीको अवस्था नियन्त्रणका लागि आवश्यक पहल गर्न बृहत छलफल भएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

टेलिफोन वार्तामा विश्वव्यापी रुपमा फैलिरहेको महामारी नियन्त्रणका लागि चीनको उल्लेख्य सहयोग रहने र अमेरिकामा उग्ररुप लिइरहेको प्रकोपबारे सीले चिन्ता व्यक्त गरेकाे चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

वार्ताका क्रममा सीले भाइरसबारे चीनले सबै यथार्थ जानकारी सबै देशलाई गराएको र नियन्त्रणमा सहकार्य गरिरहेकाे उल्लेख गरेका छन् ।

त्यस्तै ट्रम्पले बारम्बार कोरोना भाइरस (काेभिड-१९) लाई ‘चिनियाँ भाइरस’ भन्दै आएको टिप्पणीबारे सीले भाइरसले कुनै क्षेत्र नहेर्ने र भाइरसको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहने भनेका छन् ।

‘बृहत’ भनिएकाे वार्तामा दुवै देशको सम्बन्ध सहज बनाउँदै प्रकोप नियन्त्रणका लागि सहकार्य गर्ने सहमति भएकाे छ ।

राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत जानकारी दिँदै सीसँगै वार्ता सम्पन्न भएको र भाइरस नियन्त्रणका लागि ठूलो अनुभव र विकास बटुलेको चीनसँग सहकार्य गरेर काम गर्ने जनाएका छन् ।

चीनको वुहानबाट सुरु भएको भाइरसका बारेमा चीनले जानकारी नगराएको भन्दै अमेरिकाले विभिन्न टिप्पणी गर्दै आएको थियो । त्यस्तै ट्रम्पले केही दिनअघिसम्म  रोना भाइरसलाई चिनियाँ भाइरसभन्दै आएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com