अमेरिका : ११ सय भन्दा धेरै पूर्व अधिकारीबाट महान्यायाधिवक्ताको राजिनामा माग


प्रकाशित मिति : फाल्गुन ४, २०७६ आईतबार

अमेरिकी जस्टिस डिपार्टमेन्टका ११ सय भन्दा धेरै पूर्व अधिकारीहरुबाट महान्यायाधिवक्ता (अमेरिकी न्यायमन्त्री) विलियम बारको राजिनामा माग गरिएको छ । रिपब्लिकन र डेमोक्रेटिक प्रशासनमा काम गरेका उनीहरुले आइतबार वक्तब्य जारी गरेर विलियम बारको राजिनामा मागेका हुन् ।

यसरी राजिनामा माग्नेमा ११ सय १२ जना पूर्व अधिकारीहरु रहेका छन् । न्यायको निष्पक्ष प्रशासनमा महान्यायााधिवक्ता र अमेरिकी राष्ट्रपति ट्रम्पको हस्तक्षेप भएको भन्दै उनीहरुले राजिनामा मागेका हुन् । विलियमबारले राष्ट्रपति ट्रम्पको व्यक्तिगत बोलीलाई नै अझ जोडसँग बोलेर डिपार्टमेन्ट अफ जस्टिसको गरिमामा आँच पुराएको भन्दै राजिनामा मागिएको हो ।

आफूहरु सबैले गर्वका साथ संविधानको समर्थन र रक्षा गर्न शपथ लिएको र आफ्ना कार्यालयहरूको कर्तव्य विश्वासपूर्वक कार्यान्वयन गर्ने पूर्व अधिकारीहरुले वक्तब्यमा जनाएका छन् । महान्यायाधिवक्ता बारले राजनीतिक अभियोग लागेका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लेनको मुद्दा पुन परिक्षण गर्ने निर्देशन दिएपछि त्यसको विरोध भएको हो ।

माइकल फ्लेनले राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा समेत काम गरेका थिए । तर पछि सन् २०१७ मै उनले सन् २०१६ को चुनावमा रसियन हस्तक्षेपबारे एफबीआई समक्ष झुठो बोलेको स्वीकार गर्दै बयान दिएका थिए ।

गत मंगलबार माइकल फ्लेनका वकिलहरुले उनले विगतमा गल्ती स्वीकार गरेको बयान फिर्ता लिन आवेदन दिएका थिए । सरकारले माइकल फ्लेनबिरुद्ध लामो सजाय नहुने संकेत गरेपछि यस्तो आवेदन दिइएको हो ।

उनीमाथि ५ बर्षभन्दा लामो समयको जेल सजाय हुनसक्ने भएतापनि त्यसमा हस्तक्षेप गर्दै जस्टिस डिपार्टमेन्टका महान्यायाधिवक्ता विलियम बारले अधिकतम ६ महिनामात्र सजायका लागि सिफारिस गरेका थिए । महान्यायाधिवक्ताको दवावपछि विगतमा लामो सजायको माग गरिरहेका अभियोजनकर्ताहरुले नै ६ महिना सजायको माग गरेका थिए ।

विलियम बारको यस्तो हस्तक्षेपपछि अमेरिकाको न्यायायिक क्षेत्रमा राजनीतिक हस्तक्षेपबारे चिन्ता व्यक्त गरिएको छ । विलियम बारले केही हाइ प्रोफाइल मुद्दाहरुमा सिधा हस्तक्षेप गरेपछि विवाद सृजना भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com