टेक्सासमा बिष्फोट, २ को मृत्यु, १८ घाइते, १८० घरमा क्षति
प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार
शुक्रबार विहान टेक्सासको ह्युस्टनमा भएको भयानक विष्फोटमा कम्तीमा २ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १८ जना घाइते भएको जनाइएको छ ।
बिष्फोटका कारण १८० देखि १९० घरमा क्षति पुगेको छ । वाटसन ग्राइन्डिङ नामको एउटा उत्पादन कम्पनीबाट विहान ४ बजेर २५ मिनेट जाँदा बिष्फोटको सुरुवात भएको थियो ।
घाइते मध्ये कम्तीमा २ जना वाटसन ग्राइन्डिङ कम्पनीका कर्मचारी भएको जनाइएको छ । बिष्फोटका कारण आसपासमा क्षेत्रमा समेत कम्पन भएको स्थानीयबासिन्दाले जनाएका छन् ।
बिष्फोटपछि कम्तीमा ४८ जनाले नजिकैको चर्चमा शरण लिएका छन् । अमेरिकन रेडक्रसले पीडितहरुका लागि सेल्टर बनाउन थालिसकेको छ ।
घटनास्थलमा अग्नीनियन्त्रकहरु परिचालन गरिएको छ भने अनुसन्धानका लागि कुकुरहरु पनि ल्याइएको छ । बिष्फोट कुनै आतंकवादी घटना भएको वा आशययुक्त भएको प्रमाण अहिलेसम्म भेटिएको छैन ।
कम्पनीको अत्याधिक प्रज्ववलनशिल ग्यास ट्यांकबाट बिष्फोट सुरु भएको जनाइएको छ । जुन ग्यास विभिन्न खालका उत्पादनमा प्रयोग गरिदै आएको थियो ।