महराले  अपराध  होइन, नैतिक त्रुटी गरेकै हो : प्रचण्ड


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ति गरेको र त्यस बिषयमा आफुलाई गलत कुरा बोलेर झनै गल्ति गरेका बताएका छन् ।

दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘महराजीले अपराध त गर्नुभएको होइन, तर नैतिक त्रुटी गर्नुभएकै हो’ ‘घटना सुन्नासाथ मैले नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई के भएको हो भनेर बुझ्न पठाए, तर उहाँले सही कुरा बताउनु भएन ।’ अध्यक्ष प्रचण्डले थपे, ‘त्यसपछि म आफै जाँदा पनि उहाँले सही कुरा बताउनुभएन यो उहाँको अर्को गम्भिर गल्ति भयो ।’ पार्टी नेतृत्वले छानविन गर्न खोज्दा महराले साथ दिएनन् भन्ने प्रचण्डको प्रष्ट अभिव्यक्ति थियो ।

महराको पक्षमा तपाई बोल्नु भएन भन्ने पत्रकारको जिज्ञासाको जवाफमा उनले भने, ‘अदालतले फैसला प्रक्रिया थालिसकेको बिषयमा पार्टीको लिडरले त्यसलाई राजनीतिकरण गर्नु उचित होइन ।’ उनले अदालतलाई सघाउन महरालाई समेत आग्रह गरे । ‘महराजी थुनामा गैसक्नु भयो, अव उहाँलाई पनि मेरो गल्तिको सजाय पाउनुपर्छ भन्ने लागेको होला’ प्रचण्डले भने, ‘यो गर्नुभनेको राष्ट्रलाई पनि सघाउनु हो, समाजलाई सही दिशातर्फ लैजाने प्रक्रियालाई सघाउनु हो ।’

त्यस्तै फरक प्रसंगमा अध्यक्ष दाहालले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताए । उनले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पारे । सरकारले केही दिनअघि गरेको प्रदेश प्रमुखको नयाँ नियुक्तिलाई समेत सामान्य भएको अथ्र्याउँदै भने- “सरकारले लचिलो भएर मात्रै उहाँहरुलाई दुई वर्ष काम गर्न दिएको हो, होइन भने पहिले नै पदमुक्त गर्न सकिन्थ्यो, सबैसँग मिलेर जाऊँ भनेर केही समय काम गर्न दिएको हो ।”

नेकपाका जिल्ला इञ्चार्ज जीवन गौतमका अनुसार प्रचण्डसँगै पूर्वसभामुख एवं पार्टीकी नेतृ ओनसरी घर्ती, पार्टी प्रदेश नं ५ का मुख्यमन्त्री शङकर पोखरेल पनि दाङ आइपुगेका छन् । नेकपाले पार्टी एकतापछि अध्यक्षको सहभागितामा पहिलोपटक दाङमा बृहत कार्यकर्ता प्रशिक्षण आयोजना गर्नलागेको हो ।प्रशिक्षण कार्यक्रम पार्टी एकता, पार्टीको नीति, विचार, आसन्न उपनिर्वाचनलगायतका विषयमा केन्द्रित हुने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com