Follow @khasokhasmag

यस्तो छ महरालाई पुर्पक्षका लागि कारागार चलान गर्ने दुईवाक्यको आदेश


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

निर्वतनमा सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमााडौंमा आज भएको थुनछेक बहस सकिएपछि अदालतको आदेशअनुसार  महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो । महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएको असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

 

कृष्णबहादुर महरालाई पुर्पक्षका लागि कारागार चलान आदेशको विवरण यस्तो छ : 

 

‘मुद्दा अनुसन्धानको क्रममा गराएको मौका तहकिकात सर्जमिन मुचुल्का लगायतका कागजातलाई मुद्दाको पुर्पक्ष गर्दा थुनछेक आदेश गर्ने प्रयोजनका लागि प्रमाणमा लिन सकिने भएकाले पीडितले दिएको जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा अनुसन्धानको क्रममा कागज गर्ने व्यक्तिहरुको घटना विवरण कागज, अनुसन्धान अधिकारीको प्रतिवेदन बेहोरा तथा पीडितले प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीसमेतको प्रहरी टोलीसमक्ष र हाम्रोकुरा डटकमका प्रधान सम्पादकसमक्ष वारदातका सम्बन्धमा बताएको विवरण र खिचिएको भिडियोमा उल्लेख गरेको बेहोरा समेतको तत्काल प्राप्त प्रमाणको आधारमा यी प्रतिवादीले आरोपित कसुर नगरेको भनी अहिले नै निष्कर्षमा पुग्न मिल्ने देखिएन ।

माथि उल्लेखित गरिएको आधार र कारणबाट संघीय संसदको सम्माननीय सभामुखजस्तो गरिमामय पदमा आसिन प्रतिवादी कृष्णबहादुर महराले आफ्नै कार्यालयमा कार्यरत पीडितलाई जबरजस्ती करणीको उद्योगजस्तो गम्भीर प्रकृतिको कसुर गरेको भनी निजउपर लगाइएको अभियोग, उक्त अभियोग प्रमाणित भएको अवस्थामा कानुन बमोजिम निज प्रतिवादीलाई हुनसक्ने सजायको मात्रा तथा मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ६७ मा भएको कानुनी व्यवस्था समेतको आधारमा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल निज प्रतिवादीलाई प्रस्तुत मुद्दा पुर्पक्षका लागि थुनामा राख्न उक्त संहिताको दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई कारागार कार्यालय डिल्लीबजारमा पठाइदिनु भनी मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ७९ बमोजिम गरिदिएँ ।’

 

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com