कृष्णनगर तनावग्रस्त, अनिश्चितकालीन कर्फ्यू, एक भारतीयको मृत्यु, २ घाइते


प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार

हिन्दू र मुश्लिम समुदायबीचको झडपपछि कृष्णनगर तनावग्रस्त बनेको छ । स्थिति साम्य पार्न प्रशासनले बिहीबार बिहानदेखि कृष्णनगरमा कर्फ्यू लगाएको हो ।

कर्फ्यू अवज्ञा गर्दा एक जनाको मृत्यु भएको छ । कर्फ्यू अवज्ञा गर्नेलाई प्रहरीले गोली प्रहार गर्दा सुरजकुमार पाण्डेको मृत्यु भएको हो । हरीको गोलीबाट मृत्यु हुने व्यक्ति भारतीय रहेको पुष्टि भएको छ । प्रहरीको गोली प्रहार बाट २ जना घाइते भएका छन् ।

कफ्र्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो ।त्यसरी गोली लागेर मृत्यु हुनेमा भारतको सिद्धार्थ नगर जिल्लाका बासिन्दा रहेको पुष्टि भएको छ ।

उनी वढ्नीसंँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएका व्यक्ति भएको पुष्टि हुन आएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताउनुभयो ।

कृष्णनगरमा भएको झडपमा थप उत्तेजित तुल्याउन उनीसहितको ठूलो समूह नेपाल भित्रिएको प्रहरीले आकलन गरेको छ । प्रदर्शनमा सहभागी धेरै नागरिक अनुहार नचिनिएका रहेको समेत स्थानीयवासीको भनाइ छ ।

लक्ष्मीको मूर्ति बिर्सजन गर्ने क्रममा बुधबार राति हिन्दू र मुश्लिम समुदायबीच झडप भएको थियो । दुई समुदायबीचको झडपका कारण स्थिति तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ ।

प्रहरीको गोली चले पछि वार्तामा बस्न दुवै पक्षले अस्वीकार गर्दै आएका छन् । स्थानीय प्रशासनले दिनभर सरोकारवाला पक्षसँग आग्रह गरे पनि वार्तामा बस्न अस्वीकार गरेका छन् ।

साँझसम्म पनि मृतक पाण्डेको शव कसैले बुझेका छैनन् भने विसर्जनका लागि लगिएको मूर्ति अलपत्र छ । प्रदर्शन नरोकिएपछि स्थानीय प्रशासनले सीमानाका बन्द गरेको छ ।

 

के भएको हो खासमा ?

लक्ष्मी पूजामा स्थापना गरिएको मूर्ति विसर्जन गर्न १३ कात्तिक राति ३० जना जतिको संख्यामा रहेका हिन्दू धर्मावलम्बीहरु कृष्णनगर खोलातर्फ जाँदै थिए । भजन गाउँदै खोलातर्फ अगाडि बढेको यो समूहलाई केही मुस्लिम युवाले रोके ।

बाटोमा मस्जिद पर्ने भएकाले अर्को बाटो भएर जान उनीहरुले आग्रह गरेका थिए । तर, झण्डै एक किलोमिटर टाढाबाट आएको हिन्दू समूहले मुस्लिम युवाहरुको आग्रह अस्वीकार गरे।

दुवै पक्ष अडानबाट पछि नहटेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी आएपछि विवादले निकास लिने अवस्था समेत बन्यो ।

लक्ष्मीको मूर्ति बोकेर थोरै संख्या त्यही बाटो भएर जाने र बाँकी भने घुमेर खोला पुग्नेगरी सहमति जुटिसकेको थियो । यसबेला रातको १२ बज्नै लागेको थियो ।

तर, सुरक्षाको कारण देखाउँदै स्थानीय प्रशासनले १४ कात्तिकमा मात्रै मूर्ति विसर्जन गर्न निर्देशन दियो । दुवै पक्ष घर फर्किए ।

नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलखबहादुर पछाई यसमा स्थानीय प्रहरी प्रशासनको कमजोरी देख्छन् । “संवेदनशील विषयलाई हल्का ढंगले लिन हुँदैनथ्यो”, उनी भन्छन्, “राति नै मूर्ति विसर्जन गर्ने वातावरण बनेको भए विवाद हल हुनसक्थ्यो ।”

राति जुटिसकेको सहमति १४ कात्तिकमा एकाएक भत्कियो । दुवै पक्षले यसलाई इगोको विषय बनाए । दुवैतर्फ प्रदर्शनकारी थपिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com