अमेरिकी सरकारका संघीय निकायले न्युयोर्क टाइम्स र वासिंटन पोष्ट नकिन्ने


प्रकाशित मिति : कार्तिक ७, २०७६ बिहीबार

ट्रम्प प्रशासनले अमेरिकी सरकारका संघीय निकायहरुलाई न्युयोर्क टाइम्स र वासिंटन पोष्टसँगको ग्राहक सदस्यता नविकरण नगर्न आन्तरिक निर्देशन जारी गर्ने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले न्युयोर्क टाइम्स, वासिंटन पोष्ट लगायतका संचारमाध्यमले गलत समाचार प्रकाशित गरेको भन्दै विरोध जनाउँदै आएका छन् ।

ह्वाइट हाउस सेक्रेटरीले भने यो कदमलाई सरकारको खर्च कटौती योजना भएको बताएकी छिन् । देशभरका संघीय सरकारका निकायले पत्रिकाको ग्राहक योजना नविकरण नगर्दा करदाताको लाखौं डलर वचत हुने उनको तर्क रहेको छ ।

सोमबारमात्र फक्स न्युजसँगको अन्तरवार्तामा राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसभित्र आफूहरुले न्युयोर्क टाइम्स नचाहने र वासिंटन पोष्टसँग ग्राहक सदस्यता पनि खारेज गर्ने बताएका थिए । न्युयोर्क टाइम्सको प्रिन्ट भर्सन ह्वाइटहाउसमा यसअगाडि देखि नै ल्याउन छाडिएको छ ।

ह्वाइट हाउसका संवाददाता संघका अध्यक्ष जोनादन कार्लले राष्ट्रपतिबाट पत्रिका पढेपनि नपढेपनि न्युयोर्क टाइम्स र वासिंटन पोष्टका पत्रकारहरुले गुणस्तरीय पत्रकारिता जारी राख्ने विश्वास व्यक्त गरेका छन् । अमेरिकी सरकारका संघीय निकायमा कहिलेदेखि पत्रिकाहरु बन्द गरिने भन्नेबारे केही बताइएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com