अमेरिकाकै भूगोलमा झुक्किए ट्रम्प, सिमानामा नपर्ने कोलोराडोमा पर्खाल लगाउने घोषणा !


प्रकाशित मिति : कार्तिक ७, २०७६ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोलोराडोमा पर्खाल बनाउने बताएका छन् । बुधबार पिट्सबर्गमा बोल्दै ट्रम्पले पर्खालको सन्दर्भमा अस्वभाविक मन्तब्य दिएका छन् ।

उनले न्यु मेक्सिकोको सिमानामा पर्खाल लगाउने र कोलोराडोमा पनि पर्खाल लगाउने बताएका छन् । कोलोराडो त्यस्तो राज्य हो, जुन मेक्सिकोसँगको सिमानामा पर्दैन । कोलोराडो अमेरिकाकै राज्य न्यु मेक्सिकोको उत्तरमा पर्छ, अमेरिकी मेक्सिको सिमानामा पर्दैन ।

ट्रम्पले तलबाटपनि कोही छिर्न नसक्ने र माथिबाटपनि कोही उक्लन नसक्ने पर्खाल लगाउने बताए । ट्रम्पको यस्तो प्रतिकृयाबारे कोलोराडोका गभर्नर जारेड पोलिसले ट्वीट गर्दै ट्रम्पको भनाई अनौठो रहेको र कोलोराडो मेक्सिकोको सिमानामा नपर्ने बताएका छन् । उनले कोलोराडोमा अब एकदिनको निशुल्क किण्डरगार्टेन चलाइने र जसबाट त्यहाँका बच्चाहरुले आधारभूत भूगोलको बारेमा थाहा पाउन सक्ने बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गल्तीलाई ढाकछोप गर्नका लागि ट्वीट गरेका छन् । उनले आफूले ठट्टा गर्दै त्यसो भनेको बताएका छन् । गतसातामात्र रिपब्लिकन नियन्त्रित सिनेटमा सिमानामा पर्खाल लगाउनका लागि ट्रम्पले घोषणा गरेको संकलटकाल खारेज गर्ने प्रस्ताव असफल भएको थियो ।

पेन्टागनले रक्षा बजेटबाट ३ दशमलव ६ बिलियन डलर अमेरिकी सिमानामा पर्खाल लगाउनका लागि छुट्याएको थियो । अमेरिकी संसदबाट सिमानामा पर्खाल लगाउने बजेट पारित हुन नसकेपछि ट्रम्पले गत फरबरीमा संकटकालको घोषणा गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com