क्यानडामा प्रधानमन्त्री ट्रुडाे विजयी, तर बहुमत गुमाए


प्रकाशित मिति : कार्तिक ५, २०७६ मंगलबार

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ ।

संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारेमा साना दलहरुसँग छलफल थाल्नु भएको छ ।

संसदको कूल ३३८ स्थानमध्ये जस्टिनको दलले १५७ स्थानमा विजय हासिल गरेको छ । मुख्य विपक्षी एन्ड्रु सियरको कन्जरभेटिभ्सले १२१ सिट जितेको छ । त्यस्तै ब्लक क्युबेकोइसले ३२ र न्यु डेमोक्र्याट्सले २४, ग्रिन पार्टीले ३ र अरुले १ सिटमा विजय हासिल गरेका छन् ।

सन् २०१५ मा १८४ सिटमा विजय हासिल गरेको लिबरल यसपटक १५७ मा खुम्चिन पुगेको छ भने त्यतीबेला ९९ सिट जितेको कन्जभरभेटिभले यसपटक १२१ सिट जितेको छ । न्यु डेमोक्रेटिकको लोकप्रियता घटेको देखिएको छ । विगतमा ४४ सिट जिटेको उक्त पार्टी २४ मा खुम्चिएको छ । तर विगतमा १० सिट जितेको ब्लक क्युबेइक्सले अहिले ३२ सिट हात पारेको छ ।

मंगलबार बिहानैदेखि प्रधानमन्त्री जस्टिनले नयाँ सरकार गठनका लागि साना दलसँग सहमति जुटाउने प्रयास थाल्नुभएको छ ।

प्रधानमन्त्री जस्टिनले सोमबार मतदान सकिएलगत्तै समर्थकहरुलाई सम्बोधन गर्दै क्यानाडाली जनताले विभाजन र सरकारी अनुदानमाथिको निर्भरतालाई अस्वीकार गरेको बताउनुभयो । उहाँले क्यानडाका जनताले प्रगतिशील एजेन्डा र जलवायू परिवर्तन सम्बन्धी सरकारका बलिया योजनालाई खुलेर समर्थन प्राप्त भएको बताउनुभयो ।

उहाँले क्युबेक, सास्काचेवान र अल्बर्टाका जनताका निराशालाई सरकारले अवश्य ध्यान दिनेछ भन्नुभयो ।

हाल ४७ वर्ष पुग्नुभएका प्रधानमन्त्री जस्टिनमाथि ४० दिने चुनावी प्रचारका क्रममा मतदाताले चार वर्षे पहिलो कार्यकाल र आगामी दिनका योजनाका बारेमा अनेक प्रश्न गरेका थिए । उहाँले क्यानडाको इतिहासमै यस पटकको चुनावी अभियान “असाध्यै घिनलाग्दो र निम्नस्तरको” भन्दै यसमा सुधार आवश्यक छ भन्नुभयो ।

चुनावी प्रचारका क्रममा प्रधानमन्त्री जस्टिन र विपक्षी नेता सियरबीच एकअर्का विरुद्ध तिखा व्यङ्ग्य प्रहार भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com