अमेरिकाद्वारा टर्कीमाथि प्रतिबन्ध ,आक्रमण रोक्न दबाब


प्रकाशित मिति : आश्विन २८, २०७६ मंगलबार

ऐजन्सी/अमेरिकाले टर्कीमाथि प्रतिबन्धको घोषणा गरेको छ । टर्कीले उत्तरी सिरियामा कुर्दहरूमाथिको आक्रमण तीव्र पारिरहेका वेला अमेरिकाले दुईजना टर्कीका मन्त्री र अन्य तीन सरकारी अधिकारीहरूलाई प्रतिबन्ध लगाएको हो । तत्काल युद्धविरामको माग गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप तेइप एड्रोगानलाई फोन गरेका छन् ।

टर्कीले आक्रमण गरेको क्षेत्रमा आफूले जतिसक्दो चाँडो भ्रमण गर्ने उपराष्ट्रपति माइक पेन्सले बताएका छन् । अमेरिकाले स्टिलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्तासमेत रोकेको जनाएको छ ।

यसअघि सिरियाको सेना उत्तरपूर्वी सिरियामा प्रवेश गरेको थियो । टर्की र सिरियाली सरकारबीच समझधारी भएसँगै सेना उत्तरी सिरिया पुगेको हो । अब टर्की नेतृत्वको फौज र सिरियाली सेनाबीच दोहोरो झडपको खतरा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाले आफ्ना सेनालाई सिरियाबाटफिर्ता गर्ने घोषणा नगरुन्जेल कुर्दहरूले आइएसविरुद्धको हमलामा अमेरिकालाई सहयोग गर्दै आएका थिए ।

सीमाक्षेत्रबाट कुर्द फौजलाई खेद्न र अंकारा सरकार सुरक्षित भएको अनुभूति गर्न आफूहरूले आक्रमण गरेको टर्कीले बताएको छ । टर्कीले २० लाख सिरियाली शरणार्थीलाई आफ्नो भू–भागमा सुरक्षित ढंगले पुन बसोवास गर्न चाहेको बताएको छ । टर्कीयले स्थानीय कुर्द जनसंख्याको नस्ल हत्या गरेको आलोचकले बताउँदै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com