रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई दिइने


प्रकाशित मिति : आश्विन २३, २०७६ बिहीबार

स्टकहोम । यस वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरुलाई लिथियम-आयन ब्याट्री निर्माणमा उत्कृष्ट कार्य गरेबापत नोबेल पुरस्कार प्रदान गर्न लागिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

यो पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकाको टेक्सास विश्वविद्यालयका इन्जिनियरिङ विषयका प्राध्यापक ९७ वर्षीय जोन बी गुडइनफ, अमेरिकाकै न्यूयोर्क विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक ७७ वर्षीय एम स्टान्ले ह्वीटिङ्घाम र जापानको मिजो विश्वविद्यालयका प्राध्यापक ७१ वर्षीय अकिरा योशिनो छन्।

यी वैज्ञानिकको खोजले ऊर्जा भण्डारणका क्षेत्रमा नाटकीय परिवर्तन गरी कार, मोबाइल फोन तथा अरु धेरै किसिमका उपकरण चलाउन धेरै ठूलो सहयोग पुगेको समितिको ठहर छ ।

नोबेल पुरस्कार प्राप्त गर्ने प्राध्यापक गुडइनफ अहिलेसम्मकै सबैभन्दा बढी उमेरका व्यक्ति छन् । उनीहरुले गरेका अनुसन्धान र खोजले व्यावसायिक रिचार्जवेल ब्याट्री निर्माण र विकासमा आधार तयार गरेकाछन् । सन् १९७० को दशकमा तेलको विश्वव्यापी संकट उत्पन्न भएकै समयमा प्राध्यापक ह्वीटिङ्घामले जैविक इन्धनको विकल्पको खोजीका क्रममा लिथियम–आयन ब्याट्री निर्माण गर्न सकिने अवधारणाको खोजी थालेका थिए ।

रसायनशास्त्र तर्फ नोबेल पुरस्कारको राशि नौ लाख १८ हजार अमेरिकी डलर रहेको छ । यो पुरस्कार तीनै जना वैज्ञानिकलाई दामासाहीले बाँडिने नोबेल पुरस्कार छनौट समितिले जनाएको छ । यो पुरस्कार आगामी डिसेम्बर १० का दिन स्वीडेनको स्टकहोममा प्रदान गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com