अर्थतन्त्रलाई सखाप पारिदिने अमेरिकी राष्ट्रपति ट्रम्पकाे चेतावनी


प्रकाशित मिति : आश्विन २२, २०७६ बुधबार

एजेन्सी,/अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको अर्थतन्त्रलाई सखाप पारिदिने चेतावनी दिएका छन् । ट्रम्पले उत्तर–पूर्वी सिरियाबाट अमेरिकी फौजलाई फिर्ता लैजाने निर्णयबाट टर्कीले फाइदा उठाउन खोजे त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका हुन् ।

टर्कीले सीमा पार सिरियाली भूभागमा रहँदै आएको कुर्द फौजमाथि हमला गर्ने योजना गरिरहेको छ । अंकाराका यो पहिलेदेखिकै चाहाना हो । ट्रम्पले अङ्काराले ज्यादती गरे उसको अर्थतन्त्र सखाप पारिदिने चेतावनी दिएका छन् ।

उनले धेरैलाई आश्चर्यमा पारेको निर्णयको बचाउ गर्दै अमेरिकी फौजलाई घर फिर्ता ल्याउन खोजेको बताएका छन् । सरकारको सो निर्णयका विपक्षी डेमोक्र्याटिक पार्टी मात्रै नभएर सत्तारुढ दल रिपब्लिकन पार्टीभित्रैबाट समेत चर्को विरोध भएको छ ।

सिरियामा इस्लामिक स्टेट आइएसलाई पराजित गर्ने लडाइँमा कुर्दिश फौज अमेरिकी नेतृत्वको गठबन्धनको एक मुख्य सहयोगी थियो । सिरियामा अमेरिकाका करिब १ हजार फौज छन्। विदेश मन्त्रालयका वरिष्ठ अधिकारीका अनुसार सीमा क्षेत्रबाट दुई दर्जन फिर्ता लगिसकिएको छ ।

अमेरिकी सेना फिर्ता लगिने निर्णयलाई प्रमुख कुर्द समूहले ’पीठमा छुरा’ हानिएकोसँग तुलना गरेको छ । यसबीच अमेरिकी फौज फिर्ता भएको ठाउँहरूमा कुर्दिश फौजले आफ्ना लडाकू तैनाथ गर्न थालेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com