हिंसात्मक प्रदर्शन रोक्न संयुक्त राष्ट्र संघकाे आह्वान !
प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार
एजेन्सी /संयुक्त राष्ट्र संघले इराकमा भैरहेको हिंसात्मक प्रदर्शन रोक्न लागि आह्वान गरेको छ । पाँच दिनदेखि भैरहेको सरकारविरोधी प्रदर्शनमा करिब १०० जनाको मृत्यु भएपछि संघको इराकस्थित मिसनले यस्तो आह्वान गरेको हो । संघले इराकमा अनावश्यक रुपमा जीवन गुमेको भन्दै त्यसलाई रोक्न आग्रह गरेको हो ।
आन्दोलनकारीहरुले बेरोजगारी, कमजोर सार्वजनिक सेवा र भ्रष्टाचारको विरोधमा सडकमा आएको बताएका छन् । तर इराकस्थित राष्ट्र संघको मिसनले पाँच दिनदेखि भैरहेको हताहति रोकिनु पर्ने जनाएका छन् ।
राष्ट्र संघले इराकमा भैरहेको घटनामा जिम्मेवारहरुलाई न्यायको कठघरामा ल्याइनु पर्ने जनाएको छ । इराकी संसदको मानवअधिकार आयोगले प्रदर्शनको क्रममा कम्तीमा ९९ जनाको मृत्यु भएको र चार हजार घाइते भएको बताएका छन् । प्रदर्शन इराकभर फैलिएको बताइएको छ ।









