शक्तिशाली पासपोर्टको सूचीमा जापान र सिंगापुर अग्रस्थानमा,नेपाल एक स्थान माथि


प्रकाशित मिति : आश्विन १७, २०७६ शुक्रबार

यस वर्ष विश्वका शक्तिशाली पासपोर्ट भएका देशको अग्रस्थानमा एसियाका दुई देशले बाजी मारेका छन् । हेन्ले पासपोर्ट सूचकका अनुसार एसियाबाट जापान र सिंगापुर सूचीको अग्रस्थानमा परेका हुन् । हेन्लेले विभिन्न देशका पासपोर्ट तथा कागजातको अध्ययनका आधारमा यस्तो तथ्य सार्वजनिक गरेको हो । जापान तथा सिंगापुरले एक सय ९० देशसँग ट्राभल फ्रेन्ड्ली पासपार्ट नीति लिएका कारण उनीहरू शक्तिशाली पासपोर्ट भएका देशको अग्रस्थानमा पर्न सफल भएका हुन् ।

यस्तै दोस्रो स्थानमा दक्षिण कोरिया, फिनल्यान्ड र जर्मनी पर्न सफल भएका छन् । यी तीनवटै देशमा एक सय ८८ देशका नागरिकले विनाकुनै झन्झट भिसा पाउँछन् ।पाकिस्तानले भिसा नीतिमा परिवर्तन गरेपछि फिनल्यान्डले दोस्रो स्थान ओगट्न सफल भएको हो । अहिले पाकिस्तानले पनि फिनल्यान्ड, जापान, स्पेनलगायत ५० वटा देशलाई इलेक्ट्रोनिक भिसा प्रदान गर्ने भएको छ । इलेक्ट्रोनिक भिसा दिने भनिएका ५० वटा देशको सूचीमा अमेरिका र बेलायत भने परेका छैनन् ।

हेन्ले पासपोर्ट सूचकांकमा युरोपका डेनमार्क, इटाली र लक्जेम्बर्ग तेस्रो स्थानमा परेका छन् । यी देशका नागरिकलाई १८७ वटा देशमा जान भिसा नलाग्ने तथा आगमन भिसाको व्यवस्था छ । यस्तै फ्रान्स, स्पेन र स्विडेन चौथो स्थानमा छन् । पाँच वर्षअघि पहिलो स्थानमा रहेका अमेरिका र बेलायत यसपटक भने छैटौँ स्थानमा ओर्लिएका छन् । विवादित बन्दै गएको बे्रक्जिट प्रक्रियाका कारण बेलायतको स्थान खस्किएको अनुमान गरिएको छ । दुबईले पाँच स्थान माथि उक्लँदै १५औँ स्थान ओगट्न सफल भएको छ ।

नेपाल लिबियाभन्दा एक स्थान माथि !
सूचकांकले ४० देशलाई ट्राभल फ्रेन्ड्ली पासपोर्ट नभएको सूचीमा राखेको छ । जसमा नेपाल लिबियाभन्दा एक स्थान माथि एक सय दुई स्थानमा छ । अफगानिस्तान १०७औँ स्थानमा रहँदै फेरि पनि अन्तिममा परेको छ ।

हेन्ले पासपोर्ट इन्डेस्कले विभिन्न देशका पासपोर्ट तथा अन्य सम्बन्धित कागजातको अध्ययनका आधारमा यो सूची निर्माण गर्छ । अन्तर्राष्ट्रिय वायु सेवा प्राधिकरण (आइएटिए)ले प्रदान गरेको तथ्य, तथ्यांकका आधारमा शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com