सामाजिक सञ्जालको दुरुपयोग बढ्दै


प्रकाशित मिति : भाद्र २४, २०७६ मंगलबार

झण्डै एक महीनाअघि कञ्चनपुरको बेदकोट नगरपालिकाकी– एक २३ वर्षीया युवतीले विष सेवन गरिन् । आफन्तसित पर्यटकीयस्थल लिङ्गा घुम्न गएका बेला स्थानीय तीन युवाले उनको भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनाइदिएकाले तनावमा रहेकी उनले विष सेवन गरेर आत्महत्या गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो–“ उक्त घटनाबारे प्रहरीमा उजूरी परेपछि एक युवकलाई पक्राउ गरेर कारवाही अघि बढायौं ।”घटनामा संलग्न अझै दुई युवक फरार छन् ।
त्यसैगरी केही साताअघि आफ्नो नामको फेसबुक एकाउण्ट खोलेर आफ्नो फोटो फेसबुकमा राखेको भन्दै भीमदत्तनगरपालिका–१५ की अर्की एक किशोरीले जिल्ला प्रहरी कार्यालयमा उजूरी दिइन् ।“मैरै नामबाट फेसबुकमा मलाई नै धम्की आउन थालेपछि उजूरी दिन आएकी हूँ।” प्रवीणताप्रमाण पत्र तहमा अध्ययनरत ती किशोरीले भनिन्–“फेसबुकको धम्कीपूर्ण म्यासेजले निकै तनाव दियो ।” सञ्चारमाध्यममा आएका यी दुई घटना प्रतिनिधि पात्र घटना मात्रै हुन् । उक्त कार्यालयमा फेसबुक, म्यासेन्जर, इमेलगायत सामाजिक सञ्जाल दुरुपयोग भएको उजूरी आउने क्रम बढ्दो छ ।

उक्त कार्यालयका प्रहरी नायब निरीक्षक केशव शर्माले गत आर्थिक वर्षमा सामाजिक सञ्जाल दुरुपयोग भएका ७५ वटा उजूरी परेकामा सात वटालाई ‘साइबर क्राइम’ अन्तर्गत मुद्दा दायर गरेर काठमाडौँ पठाइएको जानकारी दिँदै सामाजिक सञ्जालबाट महिलाहरू बढी प्रताडित भएको बताउनुभयो । उहाँले सबैभन्दा बढी फेसबुक ह्याक गरिएको उजूरी बढी सङ्ख्यामा आइरहेको जानकारी दिनुभयो । विगतको तुलनामा सामाजिक सञ्जालका घटना बढिरहेको बताउँदै उहाँले यस्ता नियन्त्रणका लागि अभिभावक सजक हुनुपर्नेमा जोड दिनुभयो ।

“प्रवीणता प्रमाणपत्र तहसम्मका विद्यार्थी फेसबुकको लतमा बढी देखिन्छन् ।” प्रहरी नायब निरीक्षक शर्माले भन्नुभयो,“अभिभावकले पनि ध्यान नदिए समस्या बढ्दै जाने अवस्था छ ।” प्रहरीले फेसबुकलगायत सामाजिक सञ्जालमा अश्लील फोटो तथा भिडियो पठाउने, असन्तुष्टी पनि फेसबुकमै व्यक्त गर्नाका साथै गालीगलौचमै उत्रिने क्रम पनि बढिरहेको जनाएको छ ।“व्यक्तिगत इबी साध्न पनि सामाजिक सञ्जाल दुरुपयोग गर्ने प्रचलन जस्तै बन्दै छ ।” शर्माले भन्नुभयो,“फेसबुकबाटै मायाजालमा परेर विवाद गर्नेदेखि अरुलाई हतोत्साहित गर्ने काम पनि भएका उजूरी आउन थालेँ ।”सामाजिक सञ्जालको दुरुपयोग पनि एक चुनौती बन्दै गएको बताउँदै उहाँले सोे मुद्दामा एक लाख जरिवाना, पाँच वर्ष कैद वा दुवै सजाय हुनसक्ने बताउनुभयो ।

प्रहरीले फेसबुक, म्यासेन्जर लगायतका सञ्जालमा अनाधिकृत रुपमा आउने लिङ्क पनि नखोल्न आग्रह गरेको छ ।
“सामाजिक सञ्जाल प्रयोग गर्नेमा पनि धेरै कुरा भरपर्छ ।” सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत दीपक चन्दले भन्नुभयो,“यो भेट तथा सम्र्पकको थलो पनि हो, यसलाई दुरुपयोग गर्नेहरुको पनि यहाँ कमी छैन ।” देश–विदेशमा रहेकाका लागि सामाजिक सञ्जाल बढी लाभदायक रहेको उहाँको भनाइ थियो । “घरमा बसेर भिडियो कल गरेर आफन्त र परिवारसित कुरा गर्ने सुविधा पनि मिलेको छ ।” विद्यार्थी चन्दले भन्नुभयो,“यसको दुरुपयोग हुन नदिन सबै सचेत हुनु जरुरी छ ।”सोही विश्वविद्यालयमा अध्ययनरत रोशन भाटले सामाजिक सञ्जाल अध्ययनका लागि पनि सहयोगी बनेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालले धेरै समय खेरगइरहेकाले समयसीमा ख्याल गरेर उपयोग गर्न सके राम्रो हुने तर यसलाई लत बनाउन राम्रो नहुने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशमा २७ जनामा डेङ्गुको सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दै गइरहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार दिउँसोसम्म प्राप्त विवरणमा यहाँ २७ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोे छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले सुदूरपश्चिमका पाँच जिल्लामा यो बर्ष डेंगुको संक्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको हालसम्म सबैभन्दा बढी कैलाली जिल्लामा १४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

त्यसैगरी कञ्चनपुरमा छ, दार्चुलामा पाँच र डोटी तथा अछाममा १÷१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उहाँको भनाइ थियो । “गत वर्ष यहाँ १२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।” डा अवस्थीले भन्नुभयो,“यो वर्ष एक महीनामै धेरैमा यो रोग देखिएको छ ।”स्वास्थ्य निर्देशनालयका अनुसार डेङ्गु नियन्त्रणमा लागि स्थानीय तहलाई रकम र कामको जिम्मेवारी दिइएको छ ।

सङ्घीय सरकार र प्रदेश सरकारले डेङ्गु नियन्त्रणका लागि बजेटसमेत विनियोजन गरेको छ । जिल्ला अस्पताललाई डेङ्गुको प्रारम्भिक जाँच गर्न ‘टेष्ट किट’ का लागि प्रदेश सरकारले रकम उपलब्ध गराएको निर्देशक डा अवस्थीले जानकारी दिनुभयो । “एडिज नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको नियन्त्रण र उपचारका लागि कही पनि औषधि र किटको अभाव छैन ।” उहाँले भन्नुभयो,“प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत सबैतिर अख्तियारी दिइएको छ ।”

त्यसैगरी कैलाली र कञ्चनपुरका केही स्थानीय तहले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानसमेत स्थानीयस्तरमा सञ्जाल गरेको निर्देशनालय जनाएको छ ।यता महाकाली अञ्चल अस्पतालले भने डेङ्गु जाँचका लागि ‘टेष्ट किट’ को अभाव रहेको जनाएको छ । स्वास्थ्य निर्देशक डा अवस्थीले भने महाकाली उक्त अस्पतालका लागि औषधिलगायतका सामग्री खरीदका लागि प्रदेश सामाजिक विकास मन्त्रालयबाट अख्तियारी दिइसकेको बताउनुभयो ।
“अस्पताललाई किट खरीदका अख्तियारी मन्त्रालय गइसकेको छ ।” उहाँले भन्नुभयो,“महाकाली अञ्चल अस्पताललाई चिकित्सक राख्न विज्ञापन पनि खुलाइएको छ ।”
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com