अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजाबाट निराश थिए पाइप बम प्रकरणमा पक्राउ परेका कोल
प्रकाशित मिति : मंसिर २०, २०८२ शनिबार
तस्वीर स्रोत : एफबीआई
जनवरी ५, २०२१ मा डेमोक्र्याटिक र रिपब्लिकन नेशनल कमिटी कार्यालय बाहिर दुई वटा पाइप बम राखेको आरोपमा पक्राउ परेका ३० वर्षीय ब्रायन कोल जुनियरले आफु २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजाबाट ‘निराश’ भएको बताएका छन् । यद्यपी, उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक हुन् या पूर्व राष्ट्रपति जो बाइडेनका समर्थक हुन् भन्ने वास्तवमै स्पष्ट नभएको डिस्टिक्ट अफ कोलम्बियाकी अमेरिकी वकिल जिनिन पिरोले बताइन् ।
डिस्टिक्ट अफ कोलम्बियाकी अमेरिकी वकिल पिरोले अनुसन्धानकर्ताहरूले खोजिरहेका असामान्य जुत्ता कोलले फ्याँकेको पनि खुलेको जानकारी गराइन् । उनले पाइप बम राखेपछि स्निकर्स जुत्ता फ्याँकेका थिए।
प्रहरीले वर्षौं लामो अनुसन्धानपछि संदिग्धलाई पहिचान गरी बिहीबार उनलाई पक्राउ गरेको थियो। कोललाई शुक्रबार पहिलो पटक अदालतमा उपस्थित गराइएको थियो ।
सिसिटिभी फुटेजमा देखिएको नाइक एयर म्याक्स टर्फ स्निकर्स लामो समयदेखि अनुसन्धानकर्ताहरूको ध्यानको केन्द्रमा थियो, जसले संदिग्धको पहिचानमा महत्वपूर्ण भूमिका खेलेको पिरोले बताइन्। उनले भनिन्, “उनी जहाँजहाँ गए, उनको मोबाइल फोनले सेल टावरमा पिंग गरिरहेको थियो। यसबाट स्पष्ट छ कि कोल नै बम राख्ने व्यक्ति हुन्।”
अभियोजकले यस मुद्दामा अनुसन्धान नरोक्ने र खोज वारेन्ट जारी गर्दै प्रमाण सङ्कलन जारी रहने उनले बताइन् । पिरोले राजनीति जे भए पनि जनताले यस घटनाका तथ्यहरू देख्ने स्पष्ट पारिन् । “तपाईं तथ्यहरू, प्रमाण र साँचो देख्नुहुनेछ,” पिरोले भनिन्।








