न्युयोर्कमा ‘कोड ब्लु’ घोषणा; सतर्क रहन र एक-अर्कालाई सघाउन मेयर मामदानीको अपिल
प्रकाशित मिति : माघ ४, २०८२ आईतबार
न्युयोर्क सहरमा सन् २०२६ को पहिलो हिमपात सुरु भएसँगै जनजीवन प्रभावित हुने देखिएपछि स्थानीय प्रशासनले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबार हिउँ पर्ने र अत्यधिक चिसो हुने अवस्थालाई मध्यनजर गर्दै ‘कोड ब्लु’ घोषणा गरिएको हो। न्युयोर्क सिटी आपतकालीन व्यवस्थापन विभागले यात्रा सम्बन्धी सचेतता समेत जारी गरेको छ। राष्ट्रिय मौसम सेवाको पूर्वानुमान अनुसार नै सहरका विभिन्न भागमा हल्कादेखि मध्यम खालको हिमपात भइरहेको छ।
न्युयोर्कमा चिसो बढेसँगै नागरिकलाई सुरक्षित राख्न ‘कोड ब्लु’ घोषणा भएपछि विशेष उद्धार र सहायता टोली परिचालन गरिएको छ। घरबारविहीन नागरिकको सुरक्षाका लागि विभिन्न आश्रयस्थलहरू तयारी अवस्थामा राखिएका छन्। उनीहरूलाई कर्मचारी तथा सुरक्षाकर्मीहरूले आवश्यक सहायता उपलब्ध गराउनेछन्।
सामान्यतया आश्रयस्थलमा बस्नका लागि निश्चित प्रक्रियाहरू हुने गरे तापनि कोड ब्लु लागू भएपछि ती प्रक्रियाहरू निलम्बन गरिन्छ र आश्रय माग्ने जोकोहीलाई स्थान प्रदान गरिन्छ। घरबारविहीनका लागि सञ्चालित ‘ड्रप-इन सेन्टर’हरू सामान्यतया राति बन्द हुने भए तापनि कोड ब्लुको समयमा ती रातभर सञ्चालन हुन्छन्। यसका साथै नि:शुल्क सवारीसाधनको प्रबन्ध गरिएको छ भने सडक, पार्क र सबवे स्टेशनहरूमा उद्धारकर्ताको संख्या बढाइएको छ।
न्युयोर्क सिटीका मेयर जोहरान मामदानीले एक सन्देश जारी गर्दै कोही पनि नागरिक आश्रयविहीन हुन नपर्ने सुनिश्चित गरिएको बताएका छन्। “हामी पूर्ण तयारी अवस्थामा छौँ। आश्रयको खोजीमा आउने कुनै पनि व्यक्तिलाई रित्तो हात फर्काइने छैन,” मेयर मामदानीले भने। उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र आफ्ना छिमेकीहरूको अवस्थाबारे पनि जानकारी राख्न नगरवासीलाई अनुरोध गरेका छन्।
हिमपात धेरै समय नटिक्ने भए तापनि सडकहरू चिप्लो र जोखिमयुक्त हुन सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ। विशेष गरी पूर्वी क्विन्स र ब्रुकलिनका केही क्षेत्रमा हिमपातको प्रभाव बढी देखिन सक्ने अनुमान गरिएको छ।
घरभित्रको वातावरण न्यानो राख्न घरधनीहरूलाई सचेत गराइएको छ। सिटीको नियम अनुसार चिसोयाममा घरभित्रको तापक्रम तोकिएको मापदण्डभित्र राख्नुपर्ने नियम अनिवार्य छ। हिटर प्रयोग गर्दा विशेष सावधानी अपनाउन र कोइला वा ग्यास चुलोको प्रयोग गरी घर नतताउन भनिएको छ, किनभने यसबाट निसास्सिएर ज्यान जाने जोखिम हुन्छ।
यदि कोही चिसोमा अलपत्र परेको देखेमा उद्धारका लागि वा अन्य कुनै समस्या परेमा सहरको सहायता केन्द्र ३११ र आपतकालीन अवस्थामा ९११ मा खबर गर्न सबैलाई आग्रह गरिएको छ।





