उच्च मुद्रास्फीतिकै बीच फेडद्वारा ब्याजदर स्थिर: आगामी कदमका लागि थप तथ्याङ्क पर्खिने निर्णय
प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार
Photo: Joshua Woroniecki/ Unsplash
अमेरिकी केन्द्रीय बैङ्क ‘फेडरल रिभर्स’ले उच्च मुद्रास्फीतिकै बीच आफ्नो मुख्य ब्याजदरलाई यथावत राख्ने निर्णय गरेको छ। गत सेप्टेम्बरमा ब्याजदर बढाएको फेडका नीति निर्माताहरूले आगामी कदमका लागि थप आर्थिक तथ्याङ्क पर्खिने रणनीति अपनाएका छन्।
फेडका नीति निर्माताहरूले १०-२ को बहुमतले ‘फेडेरल फण्ड्स रेट’ लाई ३.७५ प्रतिशतदेखि ४ प्रतिशतको दायरामा स्थिर राख्ने पक्षमा मतदान गरे। यसअघि सेप्टेम्बर महिनामा फेडले २५ आधार विन्दुले ब्याजदर बढाएको थियो, जुन जुलाई २०२३ यताकै पहिलो वृद्धि थियो।
मौद्रिक नीतिसम्बन्धी निर्णय गर्ने केन्द्रीय बैङ्कको टोली फेडेरल ओपन मार्केट कमिटीले भूराजनीतिक परिस्थितिका कारण अनिश्चितता कायम रहे तापनि आर्थिक गतिविधिहरू तीव्र गतिमा विस्तार भइरहेको उल्लेख गरेको छ। कमिटीका अनुसार बलियो उत्पादकत्व र पुँजीगत लगानी जारी छ भने रोजगारी वृद्धि दरले पनि गति समातेको छ।
एफओएमसीको वक्तव्यमा मुद्रास्फीति अझै पनि उच्च रहेको र आफ्ना लक्ष्यहरू पूरा गर्न थप तथ्याङ्कको अध्ययन आवश्यक पर्ने जनाइएको छ। कमिटीले भनेको छ, थप सूचनाहरूको सङ्कलनले मुद्रास्फीतिलाई २ प्रतिशतको लक्ष्यमा फर्काउन उपयुक्त नीति निर्धारण गर्न मद्दत पुर्याउनेछ। कमिटी मूल्य स्थिरता कायम गर्न प्रतिबद्ध छ।
ब्याजदर स्थिर राख्ने निर्णयमा दुई जना नीति निर्माताहरूले असहमति जनाएका थिए। क्लिभल्याण्ड फेडकी अध्यक्ष बेथ ह्यामाक र फेड गभर्नर लिसा कुकले ब्याजदरलाई २५ आधार विन्दुले बढाउनुपर्ने पक्षमा मतदान गरेका थिए।
फेडका अध्यक्ष केभिन वार्सले हरेक बैठकमा आर्थिक अवस्थाको समीक्षा गर्दा नीति निर्माताहरूले वास्तविक परिस्थिति विश्लेषण गर्ने बताए। उनले उच्च लगानी, स्थिर श्रम बजार र उच्च मुद्रास्फीतिका कारण यो प्रक्रिया अझ जटिल बनेको स्पष्ट पारे।
अध्यक्ष वार्सका अनुसार रोजगारीको दृष्टिकोणले श्रम बजार निकै सकारात्मक छ, तर मूल्य स्थिरताको पाटोमा भने चुनौती कायम छ। उनले भने, अमेरिकी नागरिकहरू अझै पनि विगत छ वर्षदेखि लक्ष्यभन्दा माथि रहेको मुद्रास्फीतिको सामना गरिरहेका छन्। मुद्रास्फीति घटाउनु हाम्रो मुख्य जिम्मेवारी हो।
अध्यक्ष वार्सले एफओएमसीको बैठक तालिकामा गरिन लागिएको फेरबदलबारे पनि जानकारी दिए। उनका अनुसार सन् २०२७ देखि वर्षमा हुने आठवटा बैठकमध्ये एउटा बैठक विशुद्ध रूपमा व्यापक मौद्रिक नीति रणनीतिमा केन्द्रित हुनेछ। उक्त बैठकमा ब्याजदरमा मतदान हुने छैन भने कुनै नीतिगत वक्तव्य पनि जारी गरिने छैन। बाँकी सातवटा बैठकहरू भने नियमित नीति निर्धारणमा केन्द्रित रहनेछन्।
त्यस्तै, सन् २०२८ मा रणनीतिक छलफलका लागि दुईवटा र नीतिगत निर्णयका लागि छवटा बैठक सञ्चालन गरिने अपेक्षा गरिएको छ।
गोल्डम्यान स्याक्स एसेट म्यानेजमेन्टका काय हेगले फेडले डिसेम्बरमा पुनः ब्याजदर बढाउने अपेक्षा गरिएको बताएका छन्। उनका अनुसार सेप्टेम्बरको बलियो उपभोक्ता मूल्य सूचकाङ्कले मुद्रास्फीतिको जोखिम अझै बाँकी रहेको सङ्केत गर्छ।
त्यस्तै प्रिन्सिपल एसेट म्यानेजमेन्टका मुख्य वैश्विक रणनीतिकार सीमा शाहले फेडसँग पर्ख र हेरको नीति अपनाउने समय रहेको बताएकी छन्।
फेडको आगामी ब्याजदरसम्बन्धी बैठक डिसेम्बर ८-९ मा तोकिएको छ, जहाँ बजारले पुनः २५ आधार विन्दुको वृद्धि हुने अपेक्षा गरेको छ।





