बोण्डाई गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक नियन्त्रण तथा घृणाविरोधी कडा कानुन पारित


प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार

गत महिनाको यहूदी पर्वका क्रममा भएको दशकौँयताकै सबैभन्दा घातक सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियाले बन्दुक नियन्त्रण तथा घृणाविरोधी कडा कानुन पारित गरेको छ। संसद्को विशेष बैठकमा राष्ट्रिय बन्दुक बायब्याक योजना, लाइसेन्सका लागि कडा पृष्ठभूमि जाँच र घृणाजन्य अपराधविरुद्ध कडा कारबाहीसम्बन्धी विधेयकहरू पारित भएका हुन्।

मंगलबार राति प्रतिनिधिसभा र सिनेटबाट दुईवटा विधेयक पारित भए बन्दुक नियन्त्रणसम्बन्धी विधेयक ग्रीन्स पार्टीको समर्थनमा पारित भयो भने घृणाविरोधी कानुन लिबरल पार्टीको समर्थनमा स्वीकृत भएको हो।

गृह मामिला मन्त्री टोनी बर्कले डिसेम्बर १४ मा बोण्डाई बीचमा भएको आक्रमणलाई “घृणाबाट प्रेरित र बन्दुक प्रयोग गरिएको” आक्रमण भन्दै सरकारबाट व्यापक प्रतिक्रिया आवश्यक भएको बताए। उक्त घटनामा १५ जनाको ज्यान गएको थियो।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशलाई स्तब्ध पारेको उक्त घटनापछि संसद्लाई ग्रीष्म अवकाशबाट चाँडै बोलाउँदै दुई दिने विशेष सत्र आयोजना गरेका थिए। नयाँ उपायहरूले सन् १९९६ को पोर्ट आर्थर नरसंहारपछि सञ्चालन गरिएको अभियानयता सबैभन्दा ठूलो राष्ट्रिय बन्दुक बायब्याक योजना अघि बढाउने सरकारको दाबी छ।

सरकारका अनुसार अष्ट्रेलियामा हाल ४१ लाखभन्दा बढी बन्दुक छन्, जसमध्ये ११ लाखभन्दा बढी न्यु साउथ वेल्स राज्यमा रहेका छन्। “समुदायमा यति ठूलो संख्यामा बन्दुकको चलन दिगो छैन,” मन्त्री बर्कले भने।

यद्यपि विपक्षी लिबरल–नेशनल गठबन्धनले विधेयकको विरोध गर्दै यसले बन्दुकधारी नागरिकप्रति सरकारको अवहेलना देखाएको आरोप लगाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com