अमेरिकामा आइसको हिरासतमा रहेका २ आप्रवासीको मृत्यु
प्रकाशित मिति : माघ ५, २०८२ सोमबार
अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) को हिरासतमा दुई आप्रवासीको मृत्यु भएको छ । आइसका अनुसार मिनियापोलिसमा पक्राउ परेका ३६ वर्षीय निकारागुवाका नागरिक भिक्टर म्यानुएल डियाजको टेक्सासको एल पासोस्थित क्याम्प ईस्ट मोंटानामा बुधबार मृत्यु भएको हो।
सुरक्षा कर्मचारीहरूले उनलाई आफ्नै कोठामा बेहोस अवस्थामा फेला पारेका थिए। आपतकालीन चिकित्सक टोलीले जीवन बचाउने प्रयास गरे पनि दिउँसो ४ः०९ बजे उनको मृत्यु भएको घोषणा गरेको थियो।
आइसले प्रारम्भिक रूपमा मृत्यु सम्भावित आत्महत्याका कारण भएको जनाएको छ । तर, आधिकारिक कारण अझै अनुसन्धानकै क्रममा रहेको बताइएको छ।
डियाज जनवरी ६ मा पक्राउ परेका थिए। संघीय अधिकारीहरूका अनुसार उनी मार्च २६, २०२४ मा मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए। प्रक्रिया पूरा भएपछि उनलाई अध्यागमन न्यायाधीशसमक्ष उपस्थित हुन सूचना दिई अदालतको मितिसम्म पैरोलमा रिहा गरिएको थियो। गत अगस्टमा एक अध्यागमन न्यायाधीशले उनलाई देशबाट निष्कासन गर्ने आदेश दिएका थिए।
यसैबीच, अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले जर्जियाको एक थुनुवा केन्द्रमा ३४ वर्षीय मेक्सिकन नागरिक हेबर सान्चेज डोमिङ्गेजको मृत्यु भएको पनि पुष्टि गरेको छ। उनी ६ दिनदेखि आइसको हिरासतमा थिए । साथै, सुनुवाइको प्रतीक्षामा रहेका बेला उनी मृत अवस्थामा फेला परेका थिए। उनलाई अस्पताल लगिए पनि पछि मृत्यु भएको आइसले जनाएको छ। यस घटनाको कारण पनि अनुसन्धान भइरहेको छ।
आइसको तथ्यांकअनुसार गत वर्ष आइसको हिरासतमा रहँदा १५ जनाको मृत्यु भएको थियो। आन्तरिक तथ्यांकका अनुसार हाल अमेरिका भरि करिब ७३ हजार जना निर्वासनको सामना गरिरहेका व्यक्तिहरू आइसको हिरासतमा छन्, जुन हालसम्मकै उच्च संख्या हो।
ट्रम्प प्रशासनले निर्वासन कारबाहीलाई तीव्र बनाउने क्रममा कुनै पनि समयमा १ लाखभन्दा बढी आप्रवासीलाई थुनामा राख्ने क्षमतामा काम गरिरहेको जनाएको छ।





